२६ असोज, काठमाडौं । एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधि जित्न युएईले नेपाल सामू २ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शारजहाँ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले अकिव अलीको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । १ सय ३ बलको सामना गरेका उनी २ छक्का र ८ चौकाको मदतमा १ सय १ रनमा अविजित रहे ।
नेपालको बलिङ र फिल्डिङ चल्न नसक्दा युएईका व्याट्सम्यानहरुले खुलेर ब्याटिङ गरेका थिए । नेपालका शक्ति गौचनले १० ओभरमा २ मेडन राख्दै ३६ रन दिएर ३ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए ।
पहिलो संस्करणको फाइनलमा अफगानिस्तानसँग पराजित भएको नेपाल सन् २००२ को उपाधि भिडन्तमा युएईसँग ६ विकेटको हार व्यहोरेको थियो । नेपाल र युएई हालसम्म ८ पटक आमनेसामने भएका छन् । जारी प्रतियोगिता अघि भएको ६ भेटमा युएई विजयी भएको थियो । तर, यस प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो ।
नेपाल मलेशियालाई हराउँदै उपाधि नजिक पुगेको हो भने युएईले अफगानिस्तानलाई हराएको थियो ।

Post a Comment