
भारतीय मोडेल एवं अभिनेत्री अरित्री भट्टाचार्यलाई कुटपिट एवं बलात्कार गर्न खोजिएको घटना सार्वजनिक भएको छ । भारतको पश्चिम बंगालको चन्द्रनगरस्थित आफ्नै घरभित्र २० सेप्टेम्बरमा भएको यो ज्यादतीको विरोध गर्दा अरित्रीकी आमा पनि घाइते भएकी हुन् । स्थानीय एक प्रभावशाली नेता र रियल स्टेट व्यवसायसँग जोडिएका एक नामी हस्तीको अगाडि उनलाई दुव्र्यवहार गरिएको थियो । आक्रमणकारीले लुगा च्यातेर फालेपछि सबैको अघिल्तिर बलात्कार गर्न खोजेको अरित्रीले बताएकी छन् । बचाउन आएकी आमालाई पनि उनीहरूले कुटपिट गरेको जानकारी दिएकी छन् ।
धेरै कोसिस गरेपछि प्रहरीले उजुरी दर्ता गरेको पीडित पक्षले बताएको छ । उपल्ला प्रहरी अधिकृतको दबाबमा चार दिनपछि आरोपीहरूलाई पक्राउ गरिए पनि केही बेरपछि छाडियो । अरित्री भारतीय टीभी च्यानल र विज्ञापन फिल्की चिरपरिचित अनुहार हुन् । सन् २००६ को मिस इन्डिया इभेन्टमा उनले २२औं स्थान प्राप्त गरेकी थिइन् । तीन वर्षअघि उनले चन्दरनगरको भुइँतल्लामा एक अपार्टमेन्ट किनेर आमा, बुबा र पतिसँग बस्दै आएकी छन् । प्रहरीलाई गुहारेपछि उनलाई जीउमा तेजाब फाल्ने धम्की दिइएको छ । घटनाको विवरण अनुसार अरित्रीको शयन कक्षसँगै अपार्टमेन्टका डेभलपर्स सुमित सुर र आशिष मुखर्जीको कार्यालय छ । त्यहाँ भेला हुने स्थानीय नागरिक र डेभलपर्सबीच हुने होहल्ला र बोलिने अपशब्दको उनले विरोध गरेकी थिइन् ।
गल्तीलाई सुधार्नुको साटो २० सेप्टेम्बर राति सुरको चालक निसादले अरित्रीको फल्याट अघिल्तिर उभेर थप होहल्ला र शाब्दिक दुव्र्यवहार गरे । विरोध गर्दा मुखर्जी, सुर र स्थानीय नेताका सामु अरित्री र उनकी आमामाथि आक्रमण गरिएको थियो । आरोपित पक्षले उल्टै यो घटनालाई अस्वीकार गर्दै अरित्रीलाई उग्र र झगडालु स्वभाव भएको आरोप लगाएका छन् ।
Post a Comment