घुमुवाको काम छुट्टै समूहबाट
काठमाडौं, कार्तिक १९ - सरकारले अपराध अनुसन्धानसम्बन्धी बलियो सूचना संयन्त्रका रूपमा नेपाल प्रहरीअन्तर्गत छुट्टै समूह बनाउने भएको छ । छरपस्ट, अप्रभावकारी र विवादित ढंगले काम गर्ने 'घुमुवा प्रहरीका' का बदला त्यो समूहले केन्द्रदेखि स्थानीयस्तरका प्रमुख इकाईहरूसँग जोडिएर चुस्त सुराकी (स्मार्ट इन्टलिजेन्स)को काम गर्नेछ ।
गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव निर्माण गरी प्रहरी प्रधान कार्यालयमा रायका लागि पठाइसकेको छ । प्रहरीको सुझाव समेटेर प्रस्तावलाई कानुन निर्माणको प्रक्रियामा लगिनेछ ।
'यो बजेट, सीप र निर्दिष्ट कार्यभारसहितको समूह हुनेछ,' गृहसचिव नवीन घिमिरेले कान्तिपुरसँग भने ।
राज्यको सूचना अंगको रूपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को कार्यक्षेत्रमा अपराधसम्बन्धी सूचना -क्रिमिनल इन्टेलिजेन्स) र अपराधविरुद्धको सूचना (काउन्टर इन्टेलिजेन्स) व्यावहारिक रूपले समेटिन सकेको छैन । नेपाल प्रहरी र अन्य सुरक्षा निकायले राअविबाट कुनै सूचना सहयोग नपाएको गुनासो लामो समयदेखि गर्दै आएका छन् ।
नेपाल प्रहरीले पनि सूचना संकलनमा खटिने प्रहरीलाई सादा पोसाक लगाएर डुल्न पाइने बाहेकको कुनै सुविधा दिन सकेको छैन । घुमेर कुरा बुझ्दै हिँड्ने हुनाले बोलचालको भाषामा त्यस्ता प्रहरीलाई घुमुवा नै भन्ने गरिएको हो ।
प्रहरीले घुुमुवाको जिम्मेवारीका लागि कुनै योग्यता नै निर्धारण गरेको छैन । सम्बन्धित इकाई प्रमुखले चाहेको प्रहरी घुमुवा बन्छ । घुमुवाहरू अपराधसम्बन्धी सूचनाभन्दा आर्थिक लाभसँग जोडिने काममा संलग्न भएका घटना बरोबर सार्वजनिक हुने गरेको छ ।
घिमिरे गृहसचिवमा नियुक्त भएदेखि नै घुमुवा व्यवस्थापनको गृहकार्यमा लागेका हुन् । उनकै नेतृत्वमा राअवि पुनःसंरचनासम्बन्धी पनि अध्ययन भइरहेको छ ।
नेपाल प्रहरीमा घुमुवा राख्ने सामान्य प्रचलनबाहेक विशेषखाले अपराध सूचनाका लागि प्रतिआतंकवाद निर्देशनालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखालगायतका निकायहरू छन् । तर तिनीहरूले सूचनाकै लागि भनेर खास बजेट नै पाउँदैनन् ।
घिमिरेले खबर किन्नुपर्छ भन्ने मान्यतालाई टेकेरै सूचना संयन्त्र पुनःसंरचना अगाडि बढिरहेको बताए ।
Labels:
National News

Post a Comment