
काठमाडौं, मंसिर ४ – पत्याउनै गाह्रो भयो । साधारण लाग्ने दुई युवतीले यत्रो अपराध कसरी गरे होलान् ? तर प्रमाणले उनीहरुलाई नै दोषी देखायो । एक ६९ वर्षीया महिलाको हत्या गरि गरगहना र अन्य सामान लुटपाट गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २७ गते नक्सालको दुगड मार्गकी बनुदेबी राणालाई हत्या गरि लुटपाट गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गागलफेदीकी २२ वर्षीया जेनिशा भन्ने जुनिता थापा र जोरपाटीकी ३४ वर्षीया कल्पना गिरी छन् ।
घटनाको मुख्य योजना जेनिशाले बनाएको र कल्पनालाई त्यसमा समाबेस गरेको अनुसन्धानका क्रममा खुलेको छ । जेनिशा र मृतक राणा बिच टाढाको नाता थियो र जेनिशा उनको घरमा आउने जाने गरिरहन्थिन् । ‘मृतक महिलालाई काममा सघाउने, गफ गर्ने गरेकी थिईन्’ महाशाखाका एसएसपी देबेन्द्र सुवेदीले भने ‘त्यो नातालाई बिर्सिएर सम्पत्तिका लागि हत्या समेत गरे ।’ उनका अनुसार अहिलेसम्मको अनुसन्धानले यी दुई महिला मात्र हत्यामा संलग्न छन् । उनीहरुले बेसबलको ब्याटले टाउकोमा हानी राणाको हत्या गरेका थिए । ब्याट राणाकै घरमा थियो । ८ बजे घरमा पुगेपछि टिभी कोठामा टिभी हेरिरहेकी राणालाई ब्याटले हालेर बेहोस गराएका थिए । त्यसपछि सिरानीले मुख छोपेर दुबै जनाले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना घटेका दिन जेनिशा दिउँसो ३ बजे पनि घर गएकी थिईन् । उनले आफू इजरायल जान लागेकाले बिदा माग्न आएको बताएकी थिइन् । राणासँग राम्रो सम्बन्ध भएकी जेनिशाले काम गर्न पनि सघाइन् । ‘घरमा सम्पति लगायत अन्य सामान राखेको स्थान र कसरी लुट्ने भन्ने रेकी गर्नका लागि दिउँसो पनि पुगेको पाइयो’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ‘राति ८ बजे लुट्न पुगेका उनीहरुले पहिला राणालाई ब्याटले टाउकोमा हानेर लडाएपछि सामान उठाएर भागेका थिए ।’ अमेरिकी डलर, नेपाली र भारतीय रुपैयाँ तथा सुनका बिभिन्न गरगहना लुटेर उनीहरू फरार भएका थिए । प्रहरीले उनीहरुलाई शनिबार चितवनबाट पक्राउ गरेर ल्याएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा एक्लै बस्ने महिलाको घरमा आउ जाउ गर्ने ब्यक्ति बारे पत्ता लगाएको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दै जादाँ यिनीहरुको संलग्नता देखिएको हो । जेनिशालाई घरको सबै विवरण थाहा भएको र राणा घटना हुनु १५ दिन अघि मात्र अमेरिकाबाट फर्केकी थिईन् । उनकी एउटी छोरी अमेरिकामा छिन् ।
प्रहरीका अनुसार उनीहरुले दसैं अघि नै हत्या योजना बनाएका थिए । दसैंअघि जेनिशा र कल्पना गएर रेकी गरेका थिए । त्यो बेला नमिलेपछि उनीहरुले योजना पछि सारेको प्रहरीको दाबी छ । जेनिशा र कल्पना बीच जोरपाटीको एउटा क्याफेमा भेट भएर चिनजान तथा मोबाइल नम्बर साटा साट भएको थियो । मोबाइल नम्बर साटेर नजिकिएका उनीहरूले मान्छे मार्नेसम्म योजना साथ साथै बनाएका थिए । जेनिशाले एक जना महिला एक्लै बस्ने र उनीसंग धेरै सम्पत्ति भएको कल्पनालाई बताएकी थिईन् । श्रीमान् कृष्ण गिरीसंग छुट्टीएर बसेकी कल्पनाले पनि सजिलै पैसा आउने देखेपछि जेनिशाको साथ दिएको प्रहरी बताउँछ । कल्पनाका १५ वर्षीय छोरा र ११ वर्षीया छोरी छन् । जेनिशा पनि श्रीमान श्याम अधिकारीसँग छुट्टिएर बसेकी छन् । उनको ५ वर्षीय छोरो समेत छ । उनी यसअघि पनि आफन्तको घरमा चोरी गरेको अभियोगमा पक्राउ परिसकेकी छन् । बेरोजगारी र चाँडै पैसा कमाउने लालचका कारण उनीहरूले जघन्य अपराध गरेको हुनसक्ने प्रहरी अनुमान छ । यसअघि आपराधिक घटनामा महिलाहरू सहयोगीका रूपमा प्रयोग हुने भएको भए पनि यो घटनामा योजना नै बनाएरै अपराध गरेको पाइएको हो । प्रहरीका अनुसार महिला कै योजना र सहभागितामा घटेको सम्भवत यो पहिलो घटना समेत हो । ‘आबेसमा आएर श्रीमान् श्रीमती बिच हानाहान हुँदा महिलाको हातबाट हत्या हुने गरेको पाइएको थियो’ महाशाखाका एक अधिकृतले भने ‘तर योजना नै बनाएर हत्या गरेको यो पहिलो पटक हो ।’ महानगरीय प्रहरी अपराध महाशाखाले गत बैशाखदेखि मंसिरसम्म डाकाँ र लुटपाटमा लागेका २ सय ९६ जनालाई पक्राउ गरेको छ । डाँका लुटपाटमा ६ वर्षदेखि संलग्न भएका व्यावासायिक डाँका र लुटेरालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।
Post a Comment