प्रचण्डलाई पदमले किन खुवाए चड्कन च्युरा ?

फेसबुकमा पदम कुँवर बारे फैलिएका गलत हल्ला। एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले शुक्रबार हानेको थप्पडको गुञ्जन अझै धेरै ठाउँमा सुनिएको छ। बस, टेम्पो र चिया पसल गफमा अनि सोसल नेटवर्किङ साइटहरुमा यसैको चर्चा मानिसहरुले गरिरहेका भेटिन्छन्। तर यस्ता साइटहरुमा पदमबारे गलत जानकारीहरु पनि राखिएका छन्। जस्तो आज एक ठाउँमा पदमले पोल्यान्डकी केटीसित बिहे गरेको भन्ने समेत लेखेको देखियो। आखिर को हुन् पदम ? किन उनले प्रचण्डलाई झापड हाने? पदम बाग्लुङको राजकुट गाविस वडा नम्बर २ निवासी २३ वर्षका युवक हुन्। कुँवरको परिवारका सदस्यहरु सशस्त्र द्वन्द्वका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए। उनीहरुको परिवारको घर र सम्पतिलाई २०६० सालमा सुरक्षा फौजले ‘माओवादी आतंककारी’ को भएको भन्दै ध्वस्त पारिदिएको थियो। फेसबुकमा पदम कुँवर बारे फैलिएका गलत हल्ला। उनकी दिदीको नाम साधना कुँवर हो। त्यसैगरी दाजुको नाम टेकबहादुर कुँवर हो। दुवै द्वन्द्वकालमा माओवादी सेनाका कम्पनी कमान्डर थिए। दुवै युद्धकालमा घाइते भएका थिए। साधनाको पेटमा लागेको गोली अझैसम्म निकाल्न सकिएको छैन। टेकबहादुरको शारीरिक रुपमा मात्रै हैन मानसिक रुपले समेत कमजोर छन्। द्वन्द्व सकिएको वर्षौँ भइसक्यो। जसको काँधमा चढेर माओवादी नेताहरु अहिले सत्ता सुख भोगिरहेका छन्, प्राडो-पजेरो चढेर विलासी जीवन बिताइरहेका छन्, उनीहरुको उपचारतर्फ भने नेतृत्वले ध्यान दिएको छैन। त्यसैले उनीहरु यस्तो हालतमा छन्। पदमका पिता प्रेमबहादुर माओवादीको बाग्लुङ जिल्ला कमिटीका सदस्य हुन्। दिदी साधना भने राज्य कमिटी सदस्य छिन्। दाजु टेकबहादुरकी श्रीमती राजकुट गाउँमै सानो पसल थापेर बसिरहेकी छिन्। जनताको मुक्ति गर्ने, जनताले शासन गर्ने जस्ता आशलाग्दा सपना देखाएर जनयुद्ध गर्न आह्वान गर्ने माओवादी नेताहरुको बोलीमा भर परेर परिवारका अरु सदस्य जस्तै पदम पनि माओवादी कार्यकर्ता भएर लागे। द्वन्द्व कालमा उनले माओवादीको विद्यार्थी फाँटमा केही समय काम गरेका थिए। पछि उनी वैदेशिक रोजगारका लागि कतार उडे। कतारबाट फर्किएपछि उनी अहिले होटल याक एन्ड यतिमा प्रोफेसनल कूकको प्रशिक्षण लिँदै थिए। झलनाथलाई झापड हानिँदा जनताको आवेग पोखिएको भन्ने माओवादी आफ्नै अध्यक्षको गालामा त्यस्तै झापड बज्रिँदा तिल्मिलाएको छ। उसले नेताहरुको साख गिराउन, प्रतिगमनकारी, संघीयताविरोधीले गरेको नियोजित षड्यन्त्र भएकोसम्म भन्न भ्याइसकेको छ। त्यसैगरी अर्को १० हजार मान्छे मर्ने गरी जनयुद्ध गर्नुपर्छ भन्ने वैद्य माओवादीको प्रचण्ड नेत्रविक्रम चन्दको संयोजनमा रहेको जनस्वयंसेवकको सदस्य हुन् पदमभन्ने समेत आरोप लगाउन भ्याइसकेको छ। तर पदम पार्टी फुटेपछि दुई वटै माओवादी पार्टीमध्ये कुनैमा लागेका थिएनन्। चन्दले पनि सोही दिन वक्तव्य जारी गर्दै आफ्नो पार्टीको सदस्य नरहेको बताइसकेका छन्। पिता प्रेमबहादुर र दिदी साधना भने व‍ैद्य नेतृत्वको माओवादीमा प्रवेश गरेको केही नेताहरुले दावी गरेका छन्। यसबारे यकिन थाहा हुन सकेको छैन। पदम विद्यार्थी त राम्रै थिए। तर बुजुर्वा शिक्षाको विरोधमा लाग्न नेताहरुले गरेको आह्वानका पछि लागेर उनले पढाइ बिगारे। यही वर्ष बल्ल उनले एसएलसी पास गरेका थिए। जनताको मुक्ति हुने र जनताको जीवनस्तरमा सुधार आउने भनी आन्दोलनमा होम्याउन लगाएर आफूहरुको हातमुख जोर्न धौधौ परिरहेको बेला नेताहरु चाहिँ विलासी जीवन शैलि बिताउँदै हिँडेको देखेर पदम निराश हुने गरेको उनको परिवारका सदस्यहरु बताउँछन्। वर्ग अन्त्य हुने गफ हाँक्थे नेताहरु, समानता आउने गफ हाँक्थे नेताहरु। तर खै त, आफूलाई लडाउने नेताहरु पो उच्च वर्गका हुँदै गए त। उनीहरु पो धनी हुँदै गए त। पार्टीका लागि मरिमेटिनेहरु त जस्ताको तस्तै। भर्खर पार्टीमा छिर्ने पो धनी हुँदै गइरहेका त। यो सब देखेर बुझेका उनको मनभित्र रहेको त्यही आक्रोश त्यो दिन विस्फोट भएको हुनुपर्छ। कहाँ छन् पदम अहिले ? प्रचण्डलाई मञ्चमा पुगेर हात मिलाए लगत्तै गाला चड्काएपछि उनलाई मञ्चबाट तल झारिएको थियो। तल झारिसकेपछि कार्यकर्ताहरुले उनलाई मुक्कैमुक्काले दिएका थिए, लातैलातले हानेका थिए। उनलाई जोगाउन प्रहरीलाई निकै गाह्रो भएको थियो। प्रहरीले उनलाई सुरुमा नजिकैको नेपाल पुलिस क्लब र त्यसपछि प्रहरी अस्पतालमा उपचारका लागि लगेको थियो। दुई दिनको उपचारपछि आज आइतबार उनी त्यहाँबाट डिस्चार्ज भएका छन्। आजै उनलाई प्रहरीले काठमाडौँ सिडिओ कार्यालय पुर्‍याएको थियो। सिडिओले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्‍ने अनुमति दिएका छन्। प्रहरीले उनलाई सार्वजनिक अपराध र सजाय ऐन २०२७ अन्तर्गत मुद्दा चलाउने भएको छ। यस्तो मुद्दामा अदालतले नभई सिडिओले निर्णय गर्छन्। के सजाय हुनसक्छ यो ऐनबमोजिम? केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ को प्रावधान सजायबारे यस्तो छ- ऐन अनुसार उनलाई आइन्दा यस्तो कसूर नगर्ने भनी सामान्य कागज मात्र गराएर छाड्न पनि सकिन्छ भने बढीमा १० हजार रुपियाँ जरिवाना र ३५ दिनसम्म थुनामा राख्‍न पनि सकिन्छ। अझ दुई वर्षसम्म कैद गर्न प्रक्रिया पनि अघि बढाउन सकिन्छ। तर दुई वर्ष कैद गर्न भने पुनरावेदन अदालतले फैसला गर्नुपर्छ। प्रचण्डले अहिलेसम्म यसबारे केही बोलेका छैनन्। तर पार्टी प्रवक्ता र भ्रातृ संगठनहरुको वक्तव्य हेर्दा भने यत्तिकै छाड्ने पक्षमा उनीहरु देखिँदैनन्। नियोजित षड्यन्त्रदेखि केकेसम्म आरोप लगाउन भ्याएका छन् उनीहरुले। घटना भएकै दिन अनन्तले यसअघि भएका घटनाहरुलाई जसरी सामान्य रुपमा लिइयो, त्यसै कारण यस्तो प्रवृत्ति बढेर यहाँसम्म आइपुगेको भन्दै टिप्पणी गरिरहेको टेलिभिजनमा देखिएको थियो। त्यसैले पदमविरुद्धको कारबाहीलाई कहाँसम्म लैजाला माओवादीले, त्यो अहिले भन्न सकिन्न। द्वन्द्वकालमा आतंकको राज फैलाएको माओवादीलाई आफ्नै अध्यक्षको गालासम्म पुगेको झापडको यो ठूलै झट्काले निकै समयसम्म रन्थन्याउनु अस्वभाविक हैन। पाहुना बनेर आएका मान्छेले झुक्याएर झापड हान्नु ठीक थिएन। तर आफ्नै कार्यकर्ताहरुले झापड हान्ने परिस्थिति किन आइपर्‍यो भन्ने बारे प्रचण्ड र अरु नेताहरुले ठण्डा दिमागले नसोच्ने हो भने यस्ता झापड खानेहरुलाई केही पनि हुने छैन। झापड हान्नेहरु बरु बढी पीडित भइरहने छन्। चियापसलका गफ अनि फेसबुक र ट्विटरमा नेतालाई झापड हान्नेहरुको प्रशंसा गरेर केही हुनेवाला छैन। आखिर यसो गर्ने धेरैले तिनै नेता अघि पर्दा नतमस्तक हुने, आफ्नो केही काम गर्न तिनै नेतालाई भनसुन गर्न जाने र तिनै नेतालाई चुनावमा भोट हाल्ने काम गरेकै हुन्छन्। साभार: माइसंसार फोटो: फेसबुक
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger