एक दशकपछि दसैं मनाए पूर्वलडाकुहरूले
एक दशकपछि दसैं मनाए पूर्वलडाकुहरूले
रत्ननगर (चितवन), कार्तिक ८ - झन्डै एकदशकको अन्तरालमा पूर्व माओवादी लडाकुहरूले यसपटक खुलेरै दसैं मनाएका छन् ।
दसैं नमनाउने पार्टीकै नीति रहेका कारण दसैं मनाउन नपाएका उनीहरूले यसपटक लामो समयपछि दसैं मनाउँदा निकै खुसी भएको प्रतिक्रिया दिएका छन् ।
"विगतमा परिस्थिति त्यस्तै थियो, अहिले स्वतन्त्र भइएको छ, स्वतन्त्ररूपमा दसैं मनाउँदा निकै आनन्द लागेको छ", पूर्वी चितवनको पदमपुरमा रहेका एक पूर्वलडाकु रामचन्द्र मैनालीले भने- "यसपटक रमाइलोसँग दसैं मनाउन आमालाई काभ्रेबाट बोलाएको छु ।"
काभ्रेबाट आमाले ल्याएको कालो बोको ढालेर दसैं मनाउन सुरु गरेका उनले विजयादशमीको टीका पनि साइतमा लगाएका छन् । श्रीमती सुत्केरी भए पनि पाँच दिनमै चोख्याएर दसैं मनाएको उनले बताए ।
छोरा बुहारीलाई टीका लगाउन नपाएको १० वर्ष भएको बताउँदै आमा चन्द्रिकाले यसपटक भने खुबै रमाइलो लागेको अनुभूति सुनाइन् ।
चितवनको पदमपुरमै रहेका अर्का पूर्वलडाकु ऋषिराम मरहठ्ठाले पनि यसपालि रमाइलैसँग दसैं मनाएको बताए । वैशाखमा स्वैच्छिक अवकाश लिएका उनले फूलपातीदेखि दसैं लागेको अनुभव सुनाए ।
पदमपुरको एउटा गाउँ नै पूर्वलडाकुको छ । यहाँ अस्सी घरधुरी लडाकु ऐलानी जग्गा किनेर बस्दै आएका छन् । उनीहरूले एकआपसमा शुभकामना साटासाट गरेर परम्पराअनुसार नै दसैं मनाइरहेका छन् ।
प्रकाशित मिति: २०६९ कार्तिक ८ ०७:५१
Labels:
National News
Post a Comment