दुर्गममा ओइरिए पर्यटक
ताप्लेजुङ, कार्तिक १४ - एक सातामै दुई पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी लेलेप घुन्साकी छुरिम शेर्पालाई अहिले पर्यटक भित्र्याउने चटारो छ । आफ्नै 'घुन्सा होटल एन्ड लज' की सञ्चालिकासमेत रहेकी उनी पर्यटक आउन थालेपछि काठमाडौंबाट फर्किएकी हुन् । हिमाल आरोही घुन्साका नादा शेर्पा भने आरोहण दललाई लिन काठमाडांै गएका छन् । सगरमाथा, मकालु लगायतका क्षेत्रमा धेरै जाने उनी यो वर्ष कञ्चनजंघा हिमाल आउने टोली लिएर आउने योजनामा छन् । छुरिम र नादा मात्रै नभएर लेलेप, घुन्सा, सेकाथुम याम्फुदिन, मामाँखे क्षेत्रका बासिन्दालाई अहिले पर्यटक भित्र्याउने चटारो छ ।
आरोहीदेखि भारी बोक्ने सबै सुकेटारदेखि आधार शिविरसम्म नै व्यस्त छन् । 'तलतिर दसैंको भ्याइनभ्याइ छ रे, हामीलाई त परिवारसँगै बसेर खाने फुर्सद पनि छैन' छुरिमले थपिन्, 'अब पर्यटक सिजन सकिएपछि मात्रै परिवारका सबै सदस्य भेला हुन्छौं ।'
कञ्चनजंघा संरक्षण क्षेत्रमा यो सिजनमा धेरै पर्यटक आउने गरेका छन् । अझ यो वर्ष हवाईसेवा पनि सुरु भएको र मेची राजमार्ग पनि कालोपत्रे भएकाले पर्यटकहरू धेरै आइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार अहिले यति नै आए भनेर तथ्यांक निकालिहाल्ने समय त भएको छैन तर काठमाडौंबाट सीधै बसमा र हवाईजहाज रिजर्भ गरेर आउने विदेशीको संख्या उल्लेख्य छ । मेची राजमार्ग कालोपत्रे भएपछि बसबाट पनि धेरै विदेशी पर्यटक आइरहेका छन् । विगतका वर्षमा अधिकांश पर्यटकको पहिलो बसाइ -क्याम्प) सुकेटारबाट सुरु हुने भए पनि यो वर्ष सदरमुकामबाट हाङ्देवा हुँदै र दोभानबाट लिंखिमको मित्लुङबाट पनि पर्यटकहरू आधार शिविर गइरहेका छन् ।
सुकेटारबाट फावाखोला, मामाँखे, याम्फुदिन, आधारशिविर, घुन्सा, लेलेप, छिरुवा हुँदै फेरि सुकेटार आइपुग्न २४ दिन लाग्ने गरेको छ । यो वर्ष पर्यटक सिजन सुरु हुनुअघि नै पर्यटकीय मार्गसमेत मर्मत गरिएकाले थप सहजता
भएको छ ।
Labels:
National News
Post a Comment