तोकेभन्दा बढीमा सुन कारोबार

काठमाडौ, कार्तिक १४ - xतस्कारी नरोकिए पनि स्थानीय बजारमा सुनको अभाव बढेको छ । चाडबाढसँगै विवाहको सिजनसमेत नजिकिंदै गर्दा सुन अभाव देखाउँदै व्यवसायीले तोकेको मूल्यभन्दा बढीमा बिक्री गरिरहेका छन् । उच्च विन्दुमा मूल्य पुग्दा अप्ठ्यारोमा परेका उपभोक्ता बजारमा देखिएको कालोबजारीले अझ मारमा परेका छन् । अहिलेसम्म बजार नखुलेकाले दसैं अगाडिकै मूल्यमा सुनको बिक्री हुनुपर्ने हो । तर अहिले सुनचाँदी व्यवसायी संघले तोकेको भन्दा झन्डै ६ सय रुपैयाँ बढीमा सुनको कारोबार भइरहेको छ । भारु अभावले सुन भारतमा पुर्‍याएर आएको भारु नेपालमा बेच्दा नाफा बढी हुने भएकाले पनि व्यवसायीहरू तस्करीमा सक्रिय छन् । 'अहिले तोकेको मूल्यभन्दा बढीमा सुनको कारोबार भइरहेको पाएका छांै,' नेपाल सुन-चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'अभाव भएकाले यस्तो भएको हो ।' उनका अनुसार स्थानीय बजारमा प्रतितोला सुन ६० हजार रुपैयाँमा किनबेच भइरहेको छ । तर संघले प्रतितोला सुन ५९ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । व्यवसायीहरू आफैले सुन किन्न पर्खनुपर्ने भएकाले बढी मूल्य लिएको बताउँछन् । 'लाइनमा बसेर केही तोला सुन पाइन्छ,' एक व्यवसायीले भने, 'अनि त्यो सुनलाई संघले तिरेको मूल्यमा बेच्न सम्भवै छैन ।' उनले बजारमा प्रतितोला सुन ६० हजार रुपैयाँभन्दा पनि बढीमा बिक्री भइरहेको बताए । शाक्यले ढिक्का सुन किन्न नपाइने मात्र नभई धेरै गहनाको माग भए बनिरहेको किन्नुपर्ने अवस्थासमेत रहेको बताए । उनले सुन आयत कोटा कम भएकाले अभाव भएको बताए । राष्ट्र बैंकले वाणिज्य बैंकबाट ल्याउन पाउने गरी निर्धारण गरेको कोटाले आधा माग पनि नधानेको बताए । 'राष्ट्र बैंकलाई कोटा बढाउन भनेका छौं,' शाक्यले भने, 'दसंैपछि कोटा बढाउने कुरा भएको छ ।' नेपालमा विमानस्थलबाट सुनको तस्कारी हुने गरेको सार्वजनिक भइसकेको छ । तर त्यो सुन स्थानीय बजारमा प्रयोग नहुँदा अभाव सिर्जना भएको एक व्यवसायीले बताए । 'तस्करीबाट आएको सुन सोझै भारत पुग्छ,' ती व्यवसायीले भने, 'स्थानीय बजारमा बैंकले भित्र्याएको सुन मात्र बिक्री हुने गरेकाले अभाव बढेको हो ।' तस्कारीबाट आएको सुन बिक्री गरेर आउने भारुबाट धेरै आम्दानी हुने भएकाले तस्कारहरू त्यता लागेका हुन । भारतीय बजारमा सुनको मूल्य नेपाली बजारको भन्दा दस ग्राममा ५ सय रुपैयाँको हाराहारीमा सस्तो छ । तर त्यसलाई बेचेर आउने पैसा धेरै हुने भएकाले यस्तो भएको हो । 'तस्कर गर्नेले भारतीय बजारमा पुर्‍याएर सुन बेच्दा एक किलोमा ५० हजार रुपैयाँ कम पाउँछन्,' ती व्यवसायीले भने, 'तर भारतमा बेचेर ल्याएको भारु नेपालमा बेच्दा एक किलोमा २ लाख रुपैयाँसम्म नाफा हुने गरेकाले सस्तोमा भए पनि बेच्ने गरेका छन् ।' स्थानीय बजारमा अहिले भारुको सटही दर तोकिएको भन्दा बढी छ । एक सय भारुको १ सय ६० रुपैयाँ सटही दर तोकिए पनि अभावको कारण एक सय भारु किन्न १ सय ६८ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger