नयाँ बनेको सडकमा टाँलिदै

ललितपुर, कार्तिक १४ - निर्माण सम्पन्न नहुँदै भत्किएको ललितपुरको लेले-चन्दनपुर सडकमा ठेकेदारले प्याचिङ गरेर (टालो हालेर) मर्मत थालेका छन् । निर्माण नसकिँदै भत्किएमा सडकको पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहेकोमा ठेकेदारले नाममात्रैको मर्मत गरेर गुणस्तरहिन काम गरेको भन्दै स्थानीयबासिन्दाले विरोध गरेका हुन् । ललितपुरको दुर्गम आधा दर्जन गाविस जोड्न गत वैशाख जेठमा कालोपत्रे गरिएको सडक दुई महिना नपुग्दै भत्किएको थियो । केही बाहेक अधिकांश ठाँउमा पिच उक्किएको र भासिएको भन्दै स्थानीयबासिन्दाले पुनर्निर्माणको माग गरेका थिए । जिविसमा भएको सर्वपक्षीय छलफलमा भत्किएको सडक वर्षायाम सकिनासाथ पुनर्निर्माण गर्ने सहमति भएको थियो । तर दोस्रो खण्डका ठेकेदारले खाल्डो परेको ठाँउमा मात्रै पिच टाल्न थालेपछि स्थानीयबासिन्दाले आपत्ति जनाएका हुन् । स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मातहत दातृ निकायको सहयोगमा सञ्चालित ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनाले ललितपुरको लेलेदेखि चन्दनपुर बजारसम्म ग्राभेल गरी 'ओटासिल्ड' प्रविधिमा कालोपत्रे गरेको हो । चौघरेका मानविर तामाङले उक्किएको भागमा अलकत्रा र गिट्टी छरेर कमजोरी लुकाउन खोजिएको आरोप लगाए । 'अहिले हिउँदमा टालटुल पारेर ठेक्का सिध्याउन खाजेका छन्, वर्खा नलाग्दै सबै भत्किन्छ' उनले भने । २५ किलोमिटर साँघुरो सडकलाई फराकिलो गरी कालोपत्रे गर्न पाँच भागमा खण्डीकरण गरी टेण्डरमार्फत ठेक्का दिइएको थियो । ती मध्ये एक र पाँच खण्ड बाहेक सबैमा समस्या देखिएको एक ओभरसियरले बताए । 'हामीलाई नै थाह दिएर मर्मत गरेका छन्' ती ओभरसियरले भने, 'तर दसैंको बेलामा सबैतिर छल्ल हतारहतार काम सम्पन्न गरिएको छ ।' प्राविधिक कार्यालय ललितपुरका प्रमुख इञ्जिनियर कमल जैसीले भत्किएको ठाँउमा नयाँ ढंगले पुनर्निर्माण हुने बताए । 'केही सामान्य खाल्डाखुल्डी भएको ठाँउमा मात्रै टालो हाल्नुपर्ने हो, अरु सबैतिर भत्किएको भए सुरुदेखि नै पुनर्निर्माण गर्नुपर्छ' उनले भने । तर स्थानीयबासिन्दाले भने हरेक ठाँउमा गुणस्तरहीन कालोपत्रे गरिएको भन्दै दोहोर्‍याएर निर्माण गर्न माग गरेका छन् । जिविसको अनुगमन समितिका निवर्तमान संयोजक एवं नेकपा एकीकृतका जिल्ला अध्यक्ष भुपेन्द्र नेम्वाङ, लगायत दलका प्रतिनिधिले पनि गुनासो आएको ठाँउमा दोहोर्‍याएर काम गर्न ठेकेदारलाई निर्देशन दिन माग गरेका थिए । आयोजनाको ललितपुर शाखाका अनुसार, ठेक्काको पहिलो खण्डमा शैलुङ जेभी, दोस्रोमा एमके निर्माण, तेस्रोमा हिन्दु र चौथोमा सुनौला कन्स्ट्रक्सनले जिम्मेवारी पाएका थिए भने कोशी एण्ड न्यौपानेले पाँचौ खण्डको ठेक्का पाएका थिए । एमके, हिन्दु र सुनौलाले काम गरेको ठाँउमा समस्या देखिएको स्थानियबासिन्दा बताउछन् । डिजाईन अनुसार करिव दुई सेन्टिमिटर बाक्लो कालोपत्रे गरिएको छ । प्राविधिकहरुले नियमित र कडाईका साथ स्थलगत अनुगमन नगर्दा केही ठेकेदारले मनोमानी गरेको स्थानियबासिन्दा बताउछन् । लगत इष्टिमेटको तुलनामा ३५ प्रतिशत कममा कबुल गरी १९ करोडमा पाँच प्याकेजको ठेक्का भएको थियो । केही बाहेक अधिकांश काम सकिएको छ । विस्तारित र कालोपत्रे सडकबाट लेले, भारदेउ, चौधरे, गोटिखेल, चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल लगायतका गाविसमा बासिन्दा लाभान्वित हुनेछन् । लेलेदेखि चौधरे हुँदै चन्दनपुरसम्म पुगेको कच्ची सडकलाई स्तरोन्नत गरी पिच गर्न गरिएको थियो । पहिलो चरणमा दोहोरो ट्रयाक खोली सडक पाँच मिटर चौडा बनाउने र त्यसपछि नाली, पर्खाल र बायो इन्जिनियरको काम समेत गरी अन्त्यमा कालोपत्रे गरिएको थियो । एसियाली विकास बैंक, बेलायत दातृ नियोग डीएफआईडी, स्विस नियोग एसडीसी लगायतको सहयोगमा सञ्चालित ग्रामीण पुनःस्थापना तथा पुनर्निर्माण आयोजनाबाट सञ्चालित विकास निर्माणका काममा अन्यत्र समेत अनुमितता र गुणस्तरहिन काम भएको भन्दै गुनासो आउने गरेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger