उत्कृष्ट अमेरिकी सैनिकमा नेपाली
उत्कृष्ट अमेरिकी सैनिकमा नेपाली
काठमाडौं, कार्तिक ११ - अमेरिकी सेनाको उत्कृष्ट सैनिक पुरस्कार यस वर्ष नेपाली सरल श्रेष्ठले पाएका छन् । तुलनात्मक रूपमा निकै सानो संख्यामा रहेका नेपालीले यसअघि यस्तो सम्मान पाएका थिएनन् ।
भर्जिनियाको फोटी लीमा करिब तीन साताअघि भएको प्रतिस्पर्धामा आफ्नो बहादुरी, कौशल र विद्वता देखाएपछि श्रेष्ठ 'वर्ष सैनिक २०१२' घोषित भएको अमेरिकी सैनिक समाचार सेवाले जनाएको छ । उनी सेनाको विद्युत् उत्पादक उपकरणका प्राविधिक हुन् । श्रेष्ठसँगै सर्जेन्ट म्याथ्यु सेन्नाले उत्कृष्ट अधिकृतको पुरस्कार पाएका थिए ।
सैनिक समाचार वेबसाइटअनुसार गतसाता वासिङटन डिसीमा आयोजित एक समारोहबीच दुवैलाई अमेरिकी सेनाका उपप्रमुख ल्लोयद अस्टिनले पुरस्कार प्रदान गरेका थिए । 'यो एउटा पूर्ण सैनिकको अवधारणा हो,' अमेरिकी सेनाका सर्जेन्ट मेजर रेमन्ड चान्डलरले भने, 'हामीले उनीहरूलाई शारीरिक र मानसिक दुवै तनाव दियौं, दबाबका बेला सिर्जनशीलतालगायत विचारको चुनौती दिइएको थियो, जसले आफ्ना उपलब्धिप्रति विजेताहरूले गर्व गर्नुपर्छ ।'
प्रतिस्पर्धा अत्यन्त तीव्र थियो, प्रतिस्पर्धामा भाग लिने जो पनि यसको हकदार हुन सक्थ्यो,' सेन्नाले भने । सेनाका उत्कृष्ट २४ सैनिक तथा अधिकृतहरूले शारीरिक सुगठन, सैन्य विषयको ज्ञान, राइफल निसाना, दिवा र रात्रि ल्यान्ड नेभिगेसन लगायत फौजी किसिमका प्रतिस्पर्धा चार दिन चलेको थियो ।
उच्च शिक्षा हासिल गर्न १७ वर्षको उमेरमै २००६ मा अमेरिका पुगेका श्रेष्ठ २००९ मा अमेरिकी सेनामा प्रवेश गरेका थिए । स्पेसलिस्ट पदमा रहँदा प्रतिस्पर्धामा भाग लिएका उनी पुरस्कृत हुँदा सर्जेन्टमा बढुवा भइसकेका थिए । नर्थ क्यारोलिनास्थित फोर्ट ब्रागमा दरबन्दी भएका सरलले अमेरिकी सैनिकका रूपमा अफगानिस्तानमा तीन वर्ष सेवा गरेका थिए ।
आफ्नो सफलतामा श्रीमतीको ठूलो योगदान रहेको सरलले बताएका छन् । 'हरेक सप्ताहान्तमा अभ्यास गर्न जाँदा उनी मलाई साथ दिन्थिन्,' वेबसाइटमा भनिएको छ । 'तपाईंले पक्कै जित्नु हुन्छ भनेर भनिरहन्थिन्,' उनले भने । पत्नी एलिसाले यो खुसीमा संक्षिप्त प्रतिक्रिया दिइन्, 'सरलप्रति मलाई गर्व छ ।'
कम्प्युटर एन्ड इन्फर्मेसन साइन्समा स्नातक गरेका उनको पुख्र्यौली घर काठमाडांैको नक्सालमा रहेको नेपाली दूतावासले जनाएको छ । डा. रमेशकुमार श्रेष्ठका कान्छा छोरा सरल पुरस्कृत भएपछि श्रीमती एलिसाका साथ सैनिक पोसाकमै खुसी साट्न वासिङटनस्थित नेपाली दूतावास पुगेका थिए । उपनियोग प्रमुख अर्जुनकान्त मैनाली लगायतले दुवैलाई स्वागत गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
Labels:
National News
Post a Comment