बजेट सक्न १६ लाखको पाइप
बजेट सक्न १६ लाखको पाइप
ललितपुर, कार्तिक ११ - वर्षको अन्तमा बजेट सक्न ललितपुर जिल्ला विकास समितिले लाखौं रुपैयाँको किनेको पाइप स्टक राखेको भेटिएको छ । त्यसलाई लेखा परीक्षणले बेथितिका रूपमा औंल्याएपछि २३ किलोमिटर पाइप बाँडिएको हो । कमिसनका लागि जिविसले बर्सेनि यसरी पाइप किन्ने गरेको जिविस स्रोतले जनाएको छ ।
१५ लाख ८८ हजार रुपैयाँ खर्चेर साढे २३ किलोमिटर पाइप स्टक गरिएको स्रोतले जनायो । 'जम्मा २३ हजार ७५० मिटर विभिन्न साइजका एचडिपी पाइपहरू प्रयोग नभई सबै मौज्दातमा रहेको देखियो,' जिविस स्रोतले भन्यो । गत पुसमा त्यसमध्ये करिब १८ किलोमिटर पाइप विभिन्न गाविसका खानेपानी योजनामा बाँड्ने निर्णय भएको थियो । 'यसरी बाँडिएको पाइपको सदुरुपोग हुने सम्भावना नै हुँदैन,' जिविसका एक कर्मचारीले भने, 'नेता र ठूला ठालुका घरमा लगेर दुरुपयोग भएका कैयौं उदाहरण छन् ।' पछिल्लो समय भने सबै भण्डारण हटाइएको जिविसस्रोतले जनायो ।
गतवर्ष साढे ६ लाख रुपैयाँमा दस किलोमिटर पाइप किनेर स्टक राखिएको थियो । केन्द्रीय बजेटबाहेक जिविस कोषको रकम पनि सोही शैलीमा दुरुपयोग भएको थियो । कोषतर्फको बजेटबाट साढे ९ लाख रुपैयाँ खर्चेर १३ किलोमिटर पाइप स्टक राखिएको थियो । यसअघि जिविसले गतवर्ष खानेपानी आयोजना सञ्चालनका क्रममा ७१ लाख रुपैयाँ मनोमानी खर्च गरेको भेटिएको थियो । केन्द्रीय अनुदानबाट निकासा भएको ७१ लाखमध्ये नियम मिचेर खर्च गरेको लेखापरीक्षणले औंल्याएको छ । नियमअनुसार क्रमागत खानेपानी योजनाहरूका लागि ८० प्रतिशत रकम छुट्याई बाँकी बजेट नयाँ खानेपानी आयोजनाहरूका लागि व्यवस्था गर्नुपर्ने थियो ।
स्थानीय विकास मन्त्रालयबाट तोकिएको कार्यक्रमका लागि बजेट पाएको जिविसले स्वीकृत कार्यक्रममा मात्रै रकम खर्चन पाउने नियम छ । स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीअनुसार त्यसरी खर्च गर्दा लागत अनुमान तयार गरी नापी किताब, कार्य मूल्यांकन बिल, कार्य सम्पन्न प्रतिवेदन तयार पारी योजनाको फरफारक गर्नुपर्छ । 'गतवर्ष ७१ लाख रुपैयाँ गाविस र उपमहानगरपालिकाहरूलाई हावादारी ढंगले बाँडेर सकिएको थियो,' जिविस स्रोतले भन्यो, 'काम सम्पन्न भएको देखाउन आवश्यक पर्ने कागजात अहिले खोजेर पनि भेटिँदैन, अब हामीले कहाँ र कसरी खर्च भयो भनी जवाफ दिने ?' स्रोतका अनुसार सम्बन्धित गाविसहरूले समेत यसबारे आवश्यक कागजात पेस गर्न सकेका छैनन् ।
Labels:
National News
Post a Comment