प्रवासीको दसैं, कतै सुख, कतै दुःख
प्रवासीको दसैं, कतै सुख, कतै दुःख
काठमाडौं, कार्तिक ११ - प्रवासीभूमिमा दसैंको बेला भेटघाट, खानपीन गरेर मनाउने ताहुँ-१ पाल्पाका लालबहादुर ढेंगालाई यसपालीको दसैंले छुट्टै आनन्द दियो । उनले ८ वर्षपछि पुख्यौली घर-आँगनमै दसैं मनाए ।
१८ वर्षदेखि संयुक्त अरब इमिरेष्ट् (युएई) को दुवईमा कार्यरत ४२ वर्षीय ढेंगाले बृद्ध आमाको हातबाट टीका लगाए, आर्शिवाद लिए । कंपनीबाट बर्सेनि घर आउने सुविधा भए पनि दसैंमा घर आउने मौका उनलाई अहिले मिलेको थियो ।
'आमा विरामी हुनुहुन्छ, उहाँको हातबाट टीका र आशिर्वाद आशिर्वाद लिएँ र दुःख-सुखका कुरा गरेर बिताएको छु' परिवार सहित बुटवलको बसाईबाट घर पुगेका ढेंगाले भने-'पुख्यौली थलोमा धेरैसंग भेटघाट भयो र सामाजिक कामबारे पनि छलफल गर्यौं ।'
दसैंको बेला बाल्यकाल र किशोरावस्थामा चर्खे पिंग, डोरे पिङको रौनकले उनलाई अहिले पनि छोएको छ । पहिलेको दसैं रमाईलो बित्थ्यो भने अहिले जिम्मेवारीमा बितेको उनको अनुभव छ । 'अहिले खर्चपर्च देखि सबै आफैले मिलाउनु पर्ने हुँदा दसैं जिम्मेवारीको हुँदो रै'छ' दसैं तुलना गर्दै उनी भन्छन्,'अहिलेको पहिला अल्लारे बेला गाउँ-घर घुमेर, खाएर, खेलेर बिताएको खुबै याद दिलायो ।'
उनले दसैंका मौका पारेर गाउँमा एउटा प्रतिक्षालय बनाउन छलफल गर्न पनि भ्याए । 'व्यक्तिगत रुपमा गरेको खर्चको खासै के महत्व भो र ? त्यसैले सामाजिक काम गरौं भनेर पनि दसैंको बेला जुट्यौं' स्थानीय डुलबहादुर ढेंगाको अध्यक्षतामा निर्माण समिति गठन गरेको सुनाउूदै उनले भने,'म उता (युएइ) बाट एक- डेड लाख रुपैयाँ संकलन गरेर पठाउँछु, यता उहाँहरुले प्रतिक्षालय बनाउनुहुन्छ ।'
कतारमा रेष्टुरेष्टमा कार्यरत चण्डेनी- ५ काभ्रेका निराजन नेपाललाई दसैंको छुट्टी टीकापछि मात्र मिलेको छ । उनी २ वर्षपछि घर आउने छुट्टी पाए पनि दसैं छुट्टीमा आएको ४ वर्ष पछि हो । २ वर्ष अघि तिहारको बेला आएका थिए ।
'दसैंमा टीकट नपाएर दाई शनिवारमात्रै आउनुहुन्छ' कतारबाटै फर्केर २ दसैं मनाईसकेका भाई महेश्वरले भने,'परदेशको फुर्सद यस्तै हो, दसैं टीकाको दिनपछि भए पनि दाई आउने खबरले खुसी छौं ।'
कतारमा कामको बिट मार्दै साढे ३ वर्षमा दसैंको बेला घर आएका थाक्रे- २, धादिङका सुरेश थापाको दसैं मान्ने धोको यसपाली पनि पुरा भएन । आफन्तको मृत्युको कारण टीका- टालो लगाउन नपाएका उनले भेटघाटमा बिताए । 'घरमा दसैं मान्न नपाएको ५ वर्ष भएको थियो, यसपाली पनि मिलेन ' उनले भने,'भेटघाट गरेर दसैं बत्यो, अरु काम हुन सकेन ।'
महाभारा-४, झापा निवासी नौलासिंह थापालाई भने दसैंमात्र होइन ७ महिनादेखि कुनै रमाईलो छैन । साउदी अरबमा काम गर्न गएका छोरा उदयको मृत्यु भएपछि उनी दुःखमा छन् । 'यसपाली त चाडबाड पनि विरानो भ'को छ' ६८ वर्षीय थापाले भने- 'पोहोर दसैं मानेर गएको छोरो फर्किएन, के गर्नु जे परे पनि सहेर बस्नुपर्दो रहेछ ।'
Labels:
National News
Post a Comment