'आफन्तबाटै बेचिन्छन् चेलीबेटी'

धनगढी, कार्तिक १२ - आफन्त र चिनजान भएकाबाटै चेलीबेटी भारतलगायत तेस्रो मुलुकमा बेचिने गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले उद्धार गरिएका घटनाको प्रकृति अध्ययनबाट ९० प्रतिशतभन्दा बढी महिला आफन्त र चिनजान भएकाबाटै बेचबिखनको जोखिममा पर्ने गरेको बताए । दस प्रतिशत मात्रै अन्य कारणबाट बेचबिखनमा पर्ने गरेका छन्,' उनले भने । उनले जोखिममा पर्ने महिलाको घरपरिवारसँग दलालले सुरुमा नातागोता जोडेर विश्वासिलो सम्बन्ध गाँस्ने गर्ने गरेको बताए । उनले भने, 'अवसर पाउनासाथ घरबाट भगाउने गर्छन् ।' प्रेमजालमा फसाएरभन्दा पछिल्लो चरणमा भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि भनेर दलालले चेलीबेटीलाई बेच्न लैजाने गरेको उनले बताए । दलित, जनजाति, आदिवासी, पिछडावर्ग र विपन्न परिवारका महिला सबैभन्दा धेरै जोखिममा पर्ने गरेका छन् । माइती नेपाल धनगढीका अनुसार दलालले सीमा नाका पार गर्दा महिलालाई रिक्सा र साइकलमा प्रायः एक्लै पठाउने गरेका छन् । महिला बेचबिखनका घटनाका अभियुक्त कानुनी कारबाहीमा थोरै मात्र पर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार जिल्ला प्रहरी कार्यालयसम्म पुगिसकेका चेलीबेटी बेचबिखनका अधिकांश मामिलाहरूसमेत मिलापत्रमा टुंगिने गरेका छन् । माइती नेपाल धनगढीले गत वर्ष उद्धार गरेका ४७ घटनामध्ये एक मात्र मुद्दा अदालतमा पुगेको चौधरीले बताए । उनले भने, '४६ वटा घटना मिलापत्रमा टुंगिएका छन् ।' दलालले कानुनी फन्दामा पर्नुअघि नै पीडित पक्षलाई विभिन्न किसिमले आफ्नो पक्षमा पारी मिलापत्रमा घटनालाई टुंग्याउने गरेको उनले बताए । 'यता मुद्दा दर्ता गर्ने प्रक्रियामा अघि बढ्न खोजेका हुन्छौं,' उनले भने, 'उता फरार अभियुक्त पीडितका अभिभावकलाई आफ्नो पक्षमा पार्ने खेलोमा लाग्छन् ।' दुई महिनाअघि भारतमा बेच्न लैजाने अभियुक्तलाई १५ वर्षीया सपना आचार्य (नाम परिवर्तित) ले आफैंले कानुनी फन्दाबाट उम्काएको उनले बताए । 'भिनाजु नाता पर्ने अभियुक्तले एक पटकलाई माफी देऊ भनी खुट्टामा पर्दा पीडित पक्षको मन पग्लियो,' चौधरीले भने, 'जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको उजुरी फिर्ता लिई दुवै पक्षबीच मिलापत्र भयो ।' उनले एउटा घटनामा एकसँग एक पटक माफी माग्ने अभियुक्त दसौं घटनामा संलग्न हुँदासमेत कानुनी फन्दाबाट उम्कने गरेको बताए । उनका अनुसार आचार्यको घटनाका अभियुक्त कैलालीको चेलीबेटी बेचबिखनका सातवटा घटनामा संलग्न भएको देखिन्छन् । 'पीडित पक्षबाट उजुरीसमेत फिर्ता लिएको अवस्थामा प्रहरीले पर्याप्त प्रमाणबिना अभियुक्तलाई कानुनी कारबाही अघि बढाउन सक्दैन,' उनले भने । अध्यायन प्रतिवेदनले चेलीबेटी बेचबिखनका अधिकांश घटनामा अभियुक्त फरार हुने गरेको बताएको छ । प्रतिवेदनमा भनिएको छ, 'जोखिममा परेका महिलालाई उद्धार गर्ने क्रममा दलाल फरार हुने गरेको छ ।' सीमामा निगरानी गर्ने माइती नेपाल, महिला प्रहरी सेल, शान्ति पुनःस्थापना केन्द्रलगायत अन्य सस्थालाई शंका लागेमा महिलालाई रोकेर सोधपुछलगायत अन्य विधिबाट बेच्न लगेको हो कि होइन भनेर ठहर गर्ने गरेको छ । 'तर के गर्ने,' चौधरी भन्छन्, 'त्यतिबेलासम्म अभियुक्त फरार भइसकेका हुन्छ ।'
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger