अधिक यौन चाहना हुनु पनि एक प्रकारको रोग
प्राणीहरूमा यौनचाहना हुनु नौलो होइन । तर, यो चाहना व्यक्ति व्यक्ति अनुसार फरक पर्न सक्छ। कसैमा धेरै चाहना हुन्छ त कसैमा कम । हाम्रो सामाजिक संरचनाले यौनलाई संवेदनशील विषय मान्छ र यसमा एक किसिमको नियन्त्रण बनाइरहेको हुन्छ । यद्यपि, कतिपय व्यक्तिमा यौन इच्छा आवश्यकभन्दा बढी हुन्छ। जसरी यौन इच्छामा कमी हुनु यौनस्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन, त्यसरी नै चाहिनेभन्दा बढी यौन इच्छा हुनु पनि समस्या हो।
कुनै व्यक्तिमा यति नै यौन चाहना हुनुपर्छ भन्ने छैन। अत्यधिक यौन चाहनाको समस्याले महिलालाई पनि नपिरोल्ने होइन तर यो तुलनात्मक रूपमा पुरुषमा बढी देखिएको पाइन्छ। रुचाइएको भन्दा बढी यौन चाहना, कामावेश भएको स्थितिलाई अंग्रेजीमा एक्सेसिभ सेक्सुअल डिजायर भनिन्छ। यौनसम्बन्धी कुराको अत्यधिक आवश्यकता महसुस गर्छ र उग्र तवरले संलग्न हुन्छ भने उसको दैनिक कार्य र सामान्य सम्बन्धमा नै नकारात्मक असर पर्छ । यस्तो हुनु एक गम्भीर समस्या हो। मूलभूत रूपमा यस्तो कम्पलसिभ सेक्सुअल बिहेभियरलाई हाइपर सेक्सुआलिटी भनिन्छ। यस्तो स्थितिले पूर्णरूपमा जीवनलाई नै प्रभाव गरिरहेको हुनाले चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने हुन्छ। विशेष गरेर पुरुष हार्मोन अनि यसका साथै यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै पनि गडबडी नै यस्ता कुराका कारण हुने गर्दछन्। केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि हुन सक्छ।
विज्ञहरूले यौनव्यवहारमा अब्सेसन वा कम्पल्सन हुनु एक किसिमको मनोरोग मानेका छन्। यस किसिमको यौनव्यवहार व्यक्तिको मुड वा पर्सनालिटी डिसअर्डर वा अन्य भावनात्मक समस्यालाई सामना गर्ने संयन्त्र हो पनि भन्ने गरिन्छ। त्यसैले यस्तो समस्याको समाधानका लागि मानसिक रूपमा स्फूर्त हुन जरुरी छ । आफ्नो मनलाई अरू नै रचनात्मक कुरामा अभ्यस्त गराउनाले पनि यो समस्याबाट मुक्ति दिन सक्छ। यस्तो समस्या आएको लागेमा यौन विशेषज्ञहरूको परामर्श लिन अत्यन्त जरुरी छ ।
Labels:
बिचित्र संसार

Post a Comment