विभेद अन्त्य नभए देश टुक्रिन सक्छः भण्डारी
वैद्यनाथ यादव/ उज्यालो । राजविराज, कात्तिक २२ – राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले मधेशी समुदाय माथिको विभेद कायमै रहे मुलुक टुक्रिने र त्यसलाई कुनै कानुनले रोक्न नसक्ने बताउनुभएको छ । बुधबार राजविराजमा भएको आम सभामा भण्डारीले विभेदबाट विद्रोहको जन्म हुने भएकोले त्यसले अन्ततः विभाजन निम्त्याउने बताउनुभयो ।
मुलुकका हरेक समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको भन्दै उहाँले एउटै आमा बाबुका सन्तानलाई बराबरीको हिस्सा नदिए विभाजन कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो ।
संयुक्त मधेशी मुक्ति मोर्चा र सरकारबीच भएको चार बुँदे सम्झौता अनुरुप डेढ महिना भित्र नेपाली सेनामा दश हजार मधेशी युवाको सामुहिक प्रवेश र १ लाख ७० हजार नागरिकता विहिन मधेशी समुदायलाई नागरिकता दिनुपर्ने कार्यको थालनी गर्दा आफूलाई राष्ट्रिय विरोधी भनेको भण्डारीको तर्क छ । आफूसँग सत्ता वा जनता दुई विकल्प रहेको भन्दै जनताका लागि सत्ता त्यागेको उहाँले खुलासा गर्नुभयो ।
पूर्व मन्त्री समेत रहेका भण्डारीले वर्तमान सरकारमा सहभागी मधेशी मुक्ति मोर्चाका नेताले चार बुँदे सम्झौतालाई लत्याउँदै सरकारमा बसिरहेको आरोप लगाउनुभयो ।
मृत्यु भईसकेको संविधानसभा वित्याउन खोजे मुलुकमा ठूलो संकट आउने भन्दै अध्यक्ष भण्डारीले निष्पक्ष र स्वतन्त्र संविधानसभामा जानुपर्ने र त्यसका लागि एमाले, काँग्रेस र माओवादी बाहेकका साना दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तमलोपा सप्तरीका युवा नेता विजय यादवको नेतृत्वमा दुई हजार २१ जनाले पार्टी परित्याग गरी शरद सिंह भण्डारी नेतृत्वको पार्टीमा प्रवेश गरेका छन् ।
Labels:
National News
Post a Comment