अपराध अनुसन्धानमा मिडिया भूमिका
बडिखेल हत्याकाण्ड ९ वर्ष पूरा भयो। २०६० साल कात्तिक १६ गते ललितपुरको बडिखेलस्थित खेलगाउँमा एकै परिवारका पाँच जनाको निर्ममतापूर्वक धारिलो हतियारले हत्या गरिएको थियो।
लामो अनुसन्धानपश्चात् पनि प्रहरी दोषी पत्ता लगाउन असफल भयो। राजधानी नजिकैको गाउँमा दशैंको अष्टमीको मध्यराति भएको घटनाले मिडियामा पनि महत्त्व पाएको थियो। घटनापछिको केही वर्ष मिडियाले बेलाबखत अनुसन्धानबारे समाचार पस्केकाले प्रहरीमाथि दबाब परेको थियो। तर समय बित्दै जाँदा मिडियामा घटनाबारे 'फलो अप' समाचार कमै आयो। ९ वर्ष बित्दा घटनालाई सबैले बिर्सेजत्तिकै भएको छ। दोषी पत्ता लगाउन आवश्यक दबाब दिने या सहयोगी भूमिका निभाउनुपर्ने जिम्मेवारीबाट मिडिया चुकेको छ। प्रहरी पुरानो घटनामा अलमलिन चाहँदैन।
घटनामा दोषीले स्वतः उन्मुक्ति पाएसरह छ।
बडिखेल हत्याकाण्ड उदाहरणमात्र हो। प्रहरीले पुरानो घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको देखिँदैन। विशेषगरी जघन्य अपराधको अनुसन्धान समय बित्दै जाँदा फितलो बनाइएको छ। अनुसन्धानमा पूर्णविरामसम्म लगाउने काम भइआएका छन्। मुखले कुनै पनि घटनामा दोषी पत्ता लागेर अन्तिम किनारा नलागेसम्म अनुसन्धानमा पूर्णविराम लगाइँदैन भने पनि व्यवहारमा घटनाको अनुसन्धान बन्द गरिएका छन्। मिडियाले पुराना घटनालाई कमै उचाल्छ। नयाँ घटनालाई मात्र समाचार मान्ने प्रवृत्ति मिडियामा हावी छ। पुरानो घटनामा लुकेको रहस्य खोजेर पस्कने जाँगर कमैमा रहेको तीतो सत्य हो। रहस्य खोतल्नभन्दा नयाँ घटना कुरेर बस्नेहरु हावी छन्। विशेषगरी अपराध अनुसन्धानका क्षेत्रमा इतिहासको खोजी कमैबाट भएको छ, जसका कारण ...पेन्डिङ' मा रहेका कतिपय अपराधका घटनामा अनुसन्धान प्रगति शून्य छ। घटना पुरानो हुँदै गएपछि अनुसन्धान नै छाड्ने प्रवृत्ति प्रहरीमा देखिन्छ। विगतमा प्राथमिकतामा राखेर अनुसन्धान गरिए पनि शंका गर्नेभन्दा माथिको प्रगति हासिल गर्न प्रहरी सफल भएन। झक्झकाउनुपर्ने मिडियासमेत फितलो भयो।
घटना सेलाउँदै जाँदा अनुसन्धान गर्नुपर्ने जिम्मेवार निकायसमेतले मतलब गर्न छाड्यो। प्रहरीले यस्तै व्यवहार रानीबारी हत्याकाण्डमा समेत देखाएको छ। २०५९ असार ३१ मा काठमाडौंको रानीबारीमा दिनदहाडै इञ्जिनियर दम्पत्ती हेमन्तकुमार श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्याको दोषी अझै पत्ता लागेको छैन। घटना हुँदा मिडियाले महŒवसाथ प्रहरीको भूमिकाबारे आलोचनात्मक समाचार पस्कियो। प्रहरीसामु घटनाको अनुसन्धान ठूलो चुनौती बनेको थियो। यतिसम्मकी त्यतिबेला काठमाडौंमा खटिएका अधिकृतहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाइयो। अपराध घटनाबारे मिडियाको ...फलो अप' ले प्रहरीमाथि स्वतः सकारात्मक दबाब सृजना हुने गर्छ । अपराधका घटना अनुसन्धानको कर्तव्यपालनामा झक्झकाउन मिडियाको भूमिका रहन्छ।
बडिखेल, रानीबारी हत्याकाण्ड या प्रहरीले दोषी पत्ता लगाउन नसकेको र अनुसन्धान बन्दसरह पारिएका घटना नै किन नहोस्, मिडियाले गतिलो गरी उठान गरे प्रहरी पुराना घटनालाई समेत प्राथमिकता साथ अनुसन्धानमा सक्रिय हुनसक्छ। जघन्य अपराधका घटनालाई हेर्दा धेरै वर्ष पुराना घटनामा प्रहरी कमै सफल हुने गरेको छ। अर्कोतर्फ दोषी पत्ता लागे पनि अपराधी पक्रन नसकेको घटना यथेष्ठ छन्। हुन त जघन्य र जटिल अपराधका घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष ब्युरो छ। तथापि उसले पनि जटिल बनेका घटनामा सफलता हात पार्न सकेको छैन। इतिहासमा दर्ज धेरैजसो जघन्य अपराधका घटनामा मिडियाले खेल्नुपर्ने भूमिका पर्याप्त नभएकै हो।
बडिखेल हत्याकाण्डको अनुसन्धानमा प्रहरीले प्रारम्भमा सक्रियता देखाएको थियो। यो घटनामा दोषी पत्ता लगाउन प्रहरीले चालेको सबै रणनीति असफल भयो। जति समय बित्छ उत्ति नै अनुसन्धान जटिल बन्दै जान्छ। ९ वर्ष बितिसकेको घटनामा हात हालेर जटिल चुनौतीको सामना गर्न को चाहला र? रानीबारी हत्यालगत्तै राजधानीको असुरक्षामाथि मिडियामार्फत् आएका विश्लेषणले प्रहरीमाथि निकै दबाब बढेको थियो। मिडियाले प्राथमिकताका साथ घटनालाई प्रस्तुत गरेर दबाब सृजनामा भूमिका खेल्यो। तर अपराधका घटनामा विगतमा जस्तै 'फलो अप' फितलो भयो। दोषी पत्ता लगाउन जुटेको प्रहरी स्वयंले आफूलाई पुरानो घटनाको अनुसन्धानबाट टाढा पुर्या'यो। मुखले कुनै पनि घटनाको अनुसन्धान बन्द हुँदैन भने पनि यी घटनाको अनुसन्धान बन्द भए बराबर देखिएको छ।
प्रहरीसँग जघन्य अपराधका अनुसन्धान पूरा हुन नसकेका धेरै घटना छन्। तीमध्ये अधिकांशको अनुसन्धानमा प्रहरी फितलो देखिन्छ, जसका कारण अपराधीले उन्मुक्ति पाइरहेछ भने पीडित पक्ष सदाका लागि न्याय पाउन नसकेको पीडामा छ। प्रहरी आफंैले कर्तव्य पालना सम्झैर यस्ता पुराना घटनाबारे चासो दिनुपर्ने हो। यसतर्फ चासो दिएर दबाब सृजना गर्ने दायित्वचाहिँ मिडियाको हो। भारतमा आपराधिक घटनामा मिडियाले दिने चासोले त्यहाँको प्रहरीमाथि दबाब सृजना गर्छ। कतिपय अवस्थामा दोषी पत्ता लगाउन मिडिया सहायकसिद्ध भएको छ। सन् २००८ मे महिनामा भएको आरुषी-हेमराज हत्या प्रकरणमा मिडियाको दबाब अद्यापि जारी छ। रहस्यमय हत्या प्रकरणमा सिबिआईले लामो अनुसन्धान गरुञ्जेल मिडियाले 'फलो अप' गर्न छाडेन। हाल अदालतमा मुद्दा विचाराधीन हुँदासमेत उक्त हत्याकाण्डबारे भारतीय मिडियाले प्राथमिकताका साथ समाचार दिइरहेका छन्। घटनालाई मिडियाले सेलाउनै दिएन। मिडियाले निरन्तर प्राथमिकतामा राखेर नपस्किएको भए हत्याकाण्डको अनुसन्धान जोडतोडले हुन्न थियो। हत्यालाई आत्महत्याको रुप दिएर घटना लुकाउने षड्यन्त्रलाई समेत चिर्न मिडियाले भूमिका खेलिरहेका छन्। अपराधका घटनामा भारतीय मिडियासमेत अप्रत्यक्षरुपले अनुसन्धानकर्ता बन्दै आएका छन्। तर अपराधको खोजमूलक समाचार पस्कन हामीकहाँ भने कमै पहल भएका छन्। जे/जति भएका छन्, ती पर्याप्त छैनन्। अनुसन्धानकर्ता नबने पनि मिडिया दबाबकर्ताचाहिँ बन्न सक्नुपर्छ। मिडियाका कारण अपराध अनुसन्धानमा प्रहरीलाई नैतिक दबाबसमेत सृजना हुनसक्छ। जसका कारण निरन्तर अनुसन्धान जारी रहन्छ। र, त्यही निरन्तरको अनुसन्धानको परिणामस्वरूप अपराधका घटनाका दोषी उम्कन सक्दैनन्।
Labels:
National News

Post a Comment