
मंसिर ६ - जति शरिर देखाउन सक्यो उति नै सिनेमामा हिट बनिन्छ भनेर लागिपर्ने नायिकाहरु समेत अब भने गल्न थालेछन् । 'कथाले मागेपछि के गर्नु ?' भन्ने ओठे जवाफ फर्काउनेहरुको समेत अहिले भने यस्तो सिन नदिने निचोडमा पुग्नु साँच्चै अनौठो नै हो ।
सबैभन्दा बोल्ड नायिकाको उपमा भिरेकी सुष्मा कार्कीकै कुरा गरौं न । उनी अब बेड सिन र किस सिन भएको चलचित्र नै नखेल्ने रे । आजसम्म अन्जानमै खेलेको बताउने उनलाई यो होस् भने छायांकनस्थलमै ब्वाइफ्रेन्डसँग चुम्बन गर्दा 'वार' सिनेमाबाट निकालिएपछि खुलेको हो । 'अब राम्रा सिनेमा मात्रै खेल्छु,' उनले भनिन् । 'वार'बाटा फालिएपछि सुष्मा रित्तो हात छिन्, अहिले । गोप्य अंग देखाउन समेत धक नमान्ने सुष्माको उध्रेको चोली नामक आइटम डान्सबाहेक कुनै पनि सिनेमा हिट भने भएनन् । त्यसैले पनि सिनेमामा प्रभाव जमाउन अज्ञात कथाले मागेजस्तो सिने दिन तयार भएर मात्रै नहुने रहेछ भन्ने निष्कर्षमा सुष्मा पुगेकी हुन् ।
हट नायिका भनेर चिनिएकी रेखा थापाले समेत आफूले अबका सिनेमामा पहिरन शैली फेर्ने बताएकी छिन् । छोटा कपडा लगाएर पर्दामा झुल्किने नायिकामा पर्छिन्, रेखा । उनी भने न्यूरोडमा हिंड्ने केटीले लगाउने पहिरन आफूले सिनेमामा लगाउँदा मान्छेहरुले कुरा काटेको बताउँछिन् । 'क्यारेक्टर अनुसार पहिरन लगाउनुपर्छ । तर अब म जे पायो त्यही सिन भने दिन्न,' उनको भनाइ छ ।
बेड सिन र किस सिन भएका सिनेमा नखेल्ने कसम नै खाएकी छिन्, नायिका अनु शाहले त । किन त ? 'कलाकारको पनि आफ्नै इच्छा हुन्छ नि,' उनले भनिन्, 'हिट बन्नलाई यस्ता सिन दिनैपर्छ भन्ने जरुरी छैन ।' उनले 'ए ६९' सिनेमा यस्तै सिनका कारण रिजेक्ट गरेकी थिइन् । यस्ता दश्य भएका तीन चारवटा सिनेमा आफूले रिजेक्ट गरेको उनले सुनाईन् । ती फिल्मको नाम खोल्न भने अनु मानिनन् ।
बोल्ड सिन भएको सिनेमा 'चपली हाइट' डेब्यु नायिका बिनिता बराल भने यस्ता सिन दिन अझै आफू तयार रहेको बताउँछिन् । कथावस्तु सुहाउँदो भयो भने कलाकार भईसकेपछि यो गर्छु ऊ गर्दिन भन्न नहुने उनको निचोड छ । साधारण केटीको भूमिकामा निभाएकी बिनिताका पछिल्लो सिनेमा 'फुल स्टप'ले भने राम्रो बजार लिन सकेन । करियरमा मन्दी आउने सकेत पाएर बिनिताले पुनः ग्ल्यामरस सिन दिने इच्छा देखाएकी हुन् कि ? (फिल्म नेपाल डट कम बाट साभार गरिएको)
Post a Comment