बजेट विवादले तातेको राजनीति,के हो बजेट विवादको चुरो कुरो ?
बजेट विवादले तातेको राजनीति,के हो बजेट विवादको चुरो कुरो ?
सत्तारुढ एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले तिहार अघि नै पूर्ण बजेट ल्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बजेटमा सहमति जुटाउन पहल तिव्र पार्ने र तिहार अघि नै बजेट अध्यादेश राष्ट्रपतिकोमा पठाउने निर्णय समेत गरेको छ । बैठकले विपक्षी सँग छलफल गरेर बजेटको तयारीमा जुट्न पनि सरकारलाई सुझाव दिएको छ । बजेटमा कसैको पनि असहमति हुन नहुने भन्दै गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले तिहार अघि पूर्ण बजेट ल्याउने बताउनुभयो । खयष्अभ
बैठकमा अर्थमन्त्री बर्षमान पुनले मुलुकको वर्तमान आर्थिक अवस्था, पूर्ण बजेटको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।
यसैबीच बजेट बारे सहमति जुटाउन विपक्षी नेताहरु सँग छलफल थाल्नु भएका अर्थमन्त्री पुनले आजै नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेट्नुभएको छ । यसअघि उहाँले हिजो एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी बजेटमा सहमति जुटाउन आग्रह गर्नु भएको थियो । सरकारले बजेट बारे दलहरु बीच सहमति जुटाउन पहल गर्ने र नभएपनि कात्तिक मसान्त भित्रै पूर्ण बजेट ल्याउने तयारी गरेको छ ।
उता, दलहरु बीच जारी गतिरोध अन्त्य सहित बजेटका विषयमा सहमति जुटाउन आग्रह गर्दै राष्ट्रपति डा. रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु संगको भेटवार्ता आज पनि जारी राख्नु भएको छ । राष्ट्रपति डाक्टर रामवरण यादव र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल बीच भेटवार्ता भएको छ । शितल निवासमा आज बिहान भएको भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयास र बजेट संकट बारे छलफल भएको छ । भेटमा खनालले सहमति बिना आउने बजेट स्वीकार नगर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ ।
भेटमा राष्ट्रपतिले दलहरु बीच हुने सहमति आफूलाई मान्य हुने भन्दै कु गर्ने प्रयास गरेको भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । राष्ट्रपतिले कु गर्ने प्रयास गरेको भन्ने आरोप बारे प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सँग छलफलको तयारी गर्नु भएको छ । राष्ट्रपतिले हिजो एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई बोलाएर आफूलाई दलहरु बीच हुने सहमति मान्य हुने बताउनु भएको थियो । शितल निवास निकट स्रोतका अनुसार राष्ट्रपतिले गलत लान्छना लगाएर द्वन्द्व सृजना नगर्न प्रधानमन्त्रीलाई सचेत गराउनु हुनेछ । अर्थमन्त्री वर्षमान पुन , शिक्षा मन्त्री दिनानाथ शर्मा लगायतले सार्वजनिक रुपमा नै राष्ट्रपतिले कु गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
Labels:
National News

Post a Comment