“नेताकै शैलीमा भाषण गरे पूर्व राजा ज्ञानेन्द्रले (भिडियोसहित)”

२१ कात्तिक, काठमाडौं । धार्मिक भ्रमणको लागि भन्दै नवलपरासी पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताकै शैलीमा मञ्चमा उभिएर सम्बोधन गरेका छन् । नवलपरासीको हरपुर गाविस स्थित गोपालपुरको गोरखनाथ मन्दिरमा मंगलबार दिउँसो भएको कार्यक्रममा उनले सम्बोधन गरेका हुन् । झण्डै ७ मिनेट लामो लिखित मन्तव्यमा ज्ञानेन्द्रले घुमाउरो पारामा पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टी जनाएका छन् ।
पहिल्यै लेखेर ठीक पारेको सम्बोधन हेर्दै ज्ञानेन्द्रले भने -’अदूरदर्शी निर्णयहरु मान्न सकिने अवस्था छैन, यसप्रति सबैले विचार गर्नुपर्ने आवश्यकता छ ।’ के कस्ता निर्णयलाई अदुरदर्शी भन्न खोजेको उनले प्रष्ट पारेनन् । राजतन्त्रको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना गरिएको कुरालाई उनले संकेत गरेको ज्ञानेन्द्रका एकजना सहयोगीले अनलाइनखबरलाई बताए । ‘उहाँको संकेत पछिल्लो राजनीतिक अवस्थाप्रति हो’ उनले भने-’प्रत्यक्ष भन्न मिलेन, लोकतन्त्र स्थापनापछि भएका निर्णयप्रति सरकारको असन्तुष्टी हो ।’
ज्ञानेन्द्रले सम्बोधनको क्रममा एक शक्तिलाई माइनस गरेर राज्य सञ्चालन हुन नसक्ने पनि बताए । संविधान नबनाई संविधानसभा बिघटन भएपछि केही दलहरुले गोलमेच सम्मेलनको कुरा गरिरहेको बेला ज्ञानेन्द्रले सबै शक्तिलाई समेट्नुपर्नेमा जोड दिएका हुन् । यो सम्बोधन मार्फत उनले आफू पनि एउटा शक्ति भएको पुष्टी गर्न खोजेका छन् । ज्ञानेन्द्रले धार्मिक कार्यक्रमले राजसंस्थाको परम्परालाई निरन्तरता दिने पनि बताए । ‘गोरखमाता गोरखाको मात्रै नभएर नेपालकै देवी हुनुहुन्छ’ ज्ञानेन्द्रले भने -’उहाँको शक्तिले नै हाम्रो पुस्ताले राज्यव्यवस्था चलाउँदै आएको हो, अझै पनि उहाँको शक्तिले त्यसलाई निरन्तरतातर्फ लैजान्छ ।’ घुमाएर यसो भनेका ज्ञानेन्द्रको संकेत फेरि राजतन्त्र र्फकन सक्छ भन्ने तर्फ रहेको उनका सहयोगीले बताए । गोरखनाथलाई शाहवंशको कूलदेवताको रुपमा मानिन्छ । महाराजधिराजको रुपमै बोलाइयो नवलपरासीस्थित गोरखनाथ मन्दिरमा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति भारत इकाइले कार्यक्रम आयोजना गरेको हो । ज्ञानेन्द्रलाई सम्बोधन गराउनकै लागि कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा हर्ताकर्ता थिए, भारतीय सभासद तथा गोरखनाथ मन्दिरका पीठ आदित्यनाथ । कार्यक्रममा केही भारतीय हिन्दू नेताहरुको पनि सहभागिता थियो । कार्यक्रमका आयोजक भारतीय प्रतिनिधि रहेकाले कार्यक्रम सञ्चालन अंग्रेजी भाषामा गरिएको थियो । कार्यक्रम संचालकले ज्ञानेन्द्रलाई अंग्रेजीमा ‘महाराजाधिकार ज्ञानेन्द्र’ भनेर उल्लेख गरेका पूर्व राजाका सहयोगीले जानकारी दिए । आफूलाई सम्बोधन गर्न बोलाएपछि ज्ञानेन्द्र मञ्चमा पुगेर उठेरै भाषण गरेका थिए । उसैगरी भव्य स्वागत सोमबार सडकमार्ग हुँदै भैरहवा पुग्दा धादिङ र चितवनमा भएको जस्तै स्वागत र जयजयकार मंगलबार पनि भयो । भैरहवाबाट नवलपरासीसम्म पुग्दा झण्डै सात ठाउँमा स्वागत कार्यक्रम भएको ज्ञानेन्द्रका एक सहयोगीले जानकारी दिए । ‘ठाउँठाउँमा स्वागत गर्ने जनतको भीड थियो, ओर्लने कार्यक्रम नभएपनि मान्छेको भीड देखेर उहाँ गाडीबाट झर्नुभयो र स्वागत ग्रहण गर्नुभयो’ उनले भने । स्वागत ग्रहण र जयजयकार सुन्दै हिँडेका ज्ञानेन्द्रलाई भैरहवाबाट नवलपरासी पुग्न झण्डै तीन घण्टा लागेको थियो । नवलपरासीको कार्यक्रम सकेर उनी फेरि भैरहवामै फर्किएका छन् । सोमबार सडक मार्ग हुँदै त्यता गएका ज्ञानेन्द्र बुधबार जहाजबाट राजधानी फर्किने कार्यक्रम छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger