भारत र बंगलादेशबाट दुवई हुँदै अफगानिस्तान
काठमाडौं, कार्तिक १७ - अफगानिस्तान काम गरेर छुट्टीमा घर आएका नेपाली कामदारले फेरी जान श्रम स्वीकृत नपाएपछि भारत र बंगलादेशको बाटोबाट दुवई (युएइ) हुँदै अफगानिस्तान लागेका छन् । सरकारले वैधानिक तवरबाट जान नदिए 'राम्रो आम्दानी गुम्ने' भन्दै केही कामदार गैह्र कानुनी बाटोबाटै अफगानिस्तान लागेका हुन् ।
वैदेशिक रोजगार विभागमा पुगेका २५ भन्दा बढी कामदारले पुनः श्रम स्वीकृति नपाएपछि उनीहरु मध्ये केही दिल्ली र ढाका हुँदै दुवई पुगेको काठमाडौंमा रहेका साथीले बताएका छन् । 'नेपालबाट जान नमिलेपछि मेरा २ साथी बंगालादेश हुँदै दुवई पुगेर फोन गरिसके' हाल छुट्टीमा रहेका अफगानिस्तानका कार्यरत एक कामदारले ईकान्तिपुरलाई भने-'जागिर छोड्न भएन, आ-आफ्नै हिसावले अरु पनि जाँदैछन् ।' बंगालादेशले नेपालीलाई अनअराईभल भीसा दिने गरेको छ । कामदारहरु दुवई पुगेपछि कोही कंपनीले चार्टर गरेको फ्लाईट र कोही दुवई-अफगानिस्तानको टीकटबाट पुग्ने गर्छन् ।
अफगानिस्तानबाट हाल छुट्टीमा नेपाल आएका धादिङ, गोगनपानीका साधुराम थापाले सरकारले पुनः जान अनुमति नदिए कामदारहरु अर्कै बाटो अपनाएर जाने बताए । 'फ्लाईट मिस भए कतिपयको जागिर नै गुम्छ, त्यही हुनाले अतिरिक्त खर्च गरेर वा दिल्ली हुँदै गएका छन्' थापाले भने-'मेरो कंपनीले भने १/२ पटक समस्या परे पनि विचार गर्छ, सबैको त्यस्तो छैन । त्यसैले सरकारले हामीलाई यहाँबाट जान दिने हो/होइन निर्णय दिनुपर्यो ।'
श्रम स्वीकृति बीना अफगानिस्तानमा पुगेर फर्केका कामदारले राष्ट्र संघ, त्यस अन्तर्गतका निकाय, सुरक्षा निकाय वा नियोगमा काम गरेको प्रमाण/सिफारिस पत्र वा परिचयपत्र पेश गरे त्यसलाई अभिलेखबद्ध गरी पुनः श्रम स्वीकृति दिने यस अघि भनेको थियो । अहिले भीसा वा भीसाको काम गर्ने कागजात नभए श्रम स्वीकृत दिन नसक्ने जनाएपछि तत्काल फर्किनुपर्ने कामदारले तेस्रो बाटो अपनाएका हुन् ।
अन्यौलताकै कारण दशैं छुट्टीमा आएर फेरी अफगानिस्तान फर्किन श्रम स्वीकृतिको लागि विभाग पुगेका कामदारलाई मंगलवार दिएको स्वीकृति पनि विभागले वदर गरेको थियो । विभागले शुरुमा कंपनीको परिचयपत्र (आईडी कार्ड) र कागजातको आधारमा पुनः श्रम स्वीकृत दिएर पछि वदर गरेको थियो ।
'मैले जीवन विमा र कल्याणकोषको रकम जम्मा गरेपछि श्रम स्वीकृतिको स्टीकट लगाईदियो' एक कामदारले भने-'पछि मिल्दैन भनेर टाँसेको स्टीकर उप्काई दिए ।' कामदारहरुले राम्रो आम्दानी गुमाउन नचाहेकोले सरकार तुरुन्त निर्णय गरेर वैधानिक रुपमा फर्किने अनुमती नदिए अर्कै बाटो अपनाउने बताएका छन् । 'विभागले अनुमती दिदैन भने अरु नै बाटो जान्छौं' अफगानिस्तानको डानकोर्प कंपनीका कार्यरत एक कामदारले भने-'पहिला जसरी कि सेटिङ कि दिल्ली पुगेर दुवई हुँदै अफगानिस्तना पुग्थ्यौं, अहिले पनि त्यस्तै गर्नुपर्ला जस्तो छ ।' उनीहरुले फर्किन समस्या पर्ने हुँदा नाम सार्वजनिक चाहेका छैनन् ।
विभिन्न कंपनी मार्फत अफगानिस्तान पुगेका नेपाली कामदारले मासिक न्युनतम ६ सय अमेरिकी डलरदेखि माथी पारिश्रमिक र खाना, आवास र उपचार निसुल्क पाउने गरेका छन् । 'मैले मासिक २३ सय अमेरिकी डलर बुझ्छु, म यो गुमाउन सक्दिन' साढे २ वर्षदेखि अफगानिस्तानका कार्यरत एक कामदारले भने-'मेरो दुवईको सर्भिस भिसा छ, यहाँबाट उड्न नदिएर दिल्ली गएर जान्छु ।'
विभागले अफगानिस्तान पुनः कामको श्रम स्वीकृत दिन भीसा हुनुपर्ने, भीसा नभए आगमन अनुमती पत्र, वर्क परमिट वा रोजगार अनुमती पत्र हुनुपर्ने जनाएको छ । 'पहिला वैधानिक प्रकृयाबाट नगएकोलाई प्रमाण पेश गरे श्रम स्वीकृति दिने भनेका छौं' विभागका महानिर्देशक पुर्णचन्द्र भट्टराईले भने-' त्यसको लागि की कामदारसंग भीसा हुनुपर्छ, भिसा नभए भीसाको हैसियतमा काम गर्ने प्रमाण हुनुपर्छ ।'
विभिन्न बहुराष्ट्रिय कम्पनी मार्फत अफगानिस्तानस्थित नेटो तथा अमेरिकी बेस क्याम्पमा काम गर्नेहरु दुवईबाट सिधै क्याम्पमा जाने भएकोले उनीहरुलाई अफगानिस्तानले भिसा दिएको हुँदैन । अफगानिस्तान श्रम स्वीकृत नलिई जाने- आउने कामदारहरुसंग दुवईसम्मको भिजिट/सर्भिस भिसा हुने गर्छ ।
भिसा वा भीसाको काम गर्ने 'इलेक्ट्रोनिक कार्ड' लाई आधार मानेर अनुमति दिन सक्ने जनाउँदै अध्यागमन विभागले अपगानिस्तानको भीसा प्रकृयाबारे परराष्ट्रले बुझ्न लागेको समेत बताएको छ । 'भीसा जहाँसम्मको छ, त्यहाँसम्म जान अनुमति दिन्छौं ' अध्यागमनका महानिर्देशक सुरेश अधिकारीले भने-'परराष्ट्रले त्यहाँको भिसा प्रकृया बुझेपछि के गर्ने भन्ने निर्णय गर्न सजिलो हुनेछ ।' अध्यागमनका अनुसार दुवई भीजिट भिसामा जानको लागि ५ सय डलर देखाउनुपर्छ ।
सरकारले आंशिक खुला गरेको अफगानिस्तानमा म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जान विभागले स्वीकृत दिदै आए पनि व्यक्तिगत रुपमा रुपमा अवैधानिक बाटोबाट जाने क्रम अत्यधिक छ । विभागले पहिलो पटक व्यक्तिगत रुपमा जान अनुमती दिएको छैन । म्यानपावर कंपनी मार्फत जान पाकिस्तानस्थित नेपाली दुतावासबाट कामदारको माग र करार प्रमाणिकरण गर्नुपर्छ । विभागबाट स्वीकृत लिएर आर्थिक वर्ष ०६८/०६९ मा व्यक्तिगत तबरबाट ३ सय ३७ र म्यानपावर कम्पनीबाट ४ सय ८६ अफगानिस्तान गएका छन् ।
Labels:
National News

Post a Comment