
हाम्रो पार्टी नेकपा एकीकृत माओवादीले नेपाल सम्वत् ११३३ को अवसर पारेर भृकुटीमण्डपमा चियापानको आयोजना गरेको थियो । विगतमा ठूला सार्वजनिक कार्यक्रम गर्दा भित्री सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा वाइसीएलको हुन्थ्यो । गत वर्ष भृकुटीमण्डपमै भएको चियापानमा पनि मञ्च बनाउनेदेखि मञ्चको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी वाइसीएलकै थियो । तर, यसपटक हामीलाई मञ्च बाहेकको मात्रै सुरक्षात्मक जिम्मेवारी थियो । मञ्चको सुरक्षाको काम वुद्धिजिवी संगठनको थियो ।सुरक्षाको औपचारिक जिम्मेवारी नभए पनि चियापान कार्यक्रम सुरु भएपछि अस्तव्यस्तता र भद्रगोलको अवस्था देखेपछि मञ्चबाहिर लाइन मिलाउने काममा हामीले अग्रसरता लियौं । हात मिलाउन आएका मान्छेहरुको साथमा रहेको झोला र हेलमेट लगायतका समान लैजान नपाउने व्यवस्था तत्काल गर्यौँ ।
हामी उपत्यका वाइसीएलका करिब दुई सयजना कार्यक्रमस्थलमा थियौं । त्यसको समग्र नेतृत्व राजु खड्का र चन्द्रबहादुर थापाले गरेको भएपनि फिल्डमा हामी गर्यौँ । राजनीतिक दलका नेताहरूले सम्बोधन गरेर गएपछि चियापान सकियो । मञ्च छेउमा रहेका हाम्रा साथीहरु खाजा खान गएको अवस्था थियो । म मञ्च नजिकै थिएँ । अध्यक्ष प्रचण्डमाथि हात मिलाउन लाइनमा बसेका एक युवाले हात उठाए, उहाँको चश्मा खस्यो । अध्यक्षको सुरक्षामा खटिएका एकजना र प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका एक प्रहरीमध्ये एकले खुट्टा र अर्काले टाउकोतिर समातेर उसलाई तत्काल तल फाले । त्यो युवक मञ्चको अगाडि पत्रकारका लागि बस्न राखिएको कुर्सीमा बजारियो । लगत्तै उसमाथि त्यहाँ रहेका पार्टी कार्यकर्ताले कुटपिट गर्न थाले ।
घटनाबारे अनभिज्ञ धेरैलाई र खास गरी प्रहरीलाई पनि त्यहाँ के हुँदैछ भन्ने अनुमान लगाउन कठिन भयो । के भएको हो भन्नेबारे हामी एक-दुई जनाबाहेक अरुले चाँडो थाहा पाएनन् । हामीसँगै महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी जीवन श्रेष्ठ र उनीसँग रहेका तीनजना प्रहरी जवान थिए । आक्रोशित भीडबाट ती युवामाथि लगातार आक्रमण हुन थालेपछि मेरो दिमागमा एक्कासी उसलाई मर्न दिनुहुन्न भन्ने कुरा ‘क्लिक’ भयो । मसँगै थिए वाइसीएल ललितपुरका सदस्य कवि गौतम ‘विनय’ । उनी, म र केही प्रहरी भएर आक्रमणकारीहरूबाट ती युवालाई बल्लतल्ल फुत्काएर भृकुटी मण्डपको गेटसम्म पुर्यायौं । तर पनि कुटपिट रोकिएको थिएन ।
अध्यक्ष प्रचण्डमाथि हातपात गनर्एे युवकलाई हामी नै जोगाउन लागेको देखेर हामीलाई चिन्नेहरु यसलाई कुट्न हुने रहेनछ क्यार भन्ने ठानेर पाखा लागे । तर, अरु नयाँले आउँदै पिट्दै गर्न थाले । चियापानमा आएका हामीलाई नचिन्नेहरूले विनय र ममाथिसमेत हातपात गरे । वा, भनांै उसलाई प्रहार गर्दा हामीलाई पनि लाग्यो । प्रहरीहरुले उनलाई भ्यानमा राखेर बाहिर लैजाने कुरा गरे । मैले भनें ‘ड्राइभर र गाडीको पत्तो छैन, गाडी यहाँसम्म आउञ्जेल यसरी नै कुटपिट भइरहने हो भने यिनी मर्छन् ।’ त्यहाँ रोकिनु भनेको थप आक्रमण निम्त्याउनु थियो । मलाई लाग्यो, यो गल्ती गर्नुहुन्न । गाडीमा राखेर लान थालेको बुझेपछि भीडमा रहेका केहीले मूलगेट नै बन्द गर्न खोजे । त्यसपछि जति ढिला गर्यो, त्यति परिणाम बेठीक आउँछ भन्ने निस्कर्षका साथ उसलाई नजिकै रहेको पुुरानो महेन्द्र प्रहरी क्लब र हालको महानगरीय प्रहरी सहायता कार्यदलभित्र लगियो । त्यो युवालाई सुरक्षित गरेर बाहिर आउँदा प्रहरी कार्यालयको गेटमा हाम्रा साथीहरु चर्को नारा लगाइरहेका थिए । नारा लगाउने साथीहरूको माग थियो, अध्यक्षमाथि आक्रमण गर्नेलाई सार्वजनिक गेरर फाँसी दिनुपर्छ ।
अध्यक्ष प्रचण्ड हाम्रो शीर्ष नेतृत्व हुनुहुन्छ । उहाँलाई आक्रमण गर्नेलाई छुट दिनुपर्छ भन्ने आशय त मेरो पनि थिएन । तर, उसलाई कुटेर मारिएको भए के नेपालको राजनीतिमा त्यो एउटा असामान्य परिघटना हुने थिएन ? सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्यकर्ताको कुटाइबाट सार्वजनिक स्थलमा कसैको ज्यान गएको भए के त्यसको परिणाम सहज हुन सक्थ्यो ? मैले रामहरि श्रेष्ठ प्रकरण दोहोरिने खतरा देखेर उसलाई बचाउनुपर्छ भन्ने निर्णय लिएको हुँ । आफ्नो शीर्षस्थ नेतृत्वमाथि आक्रमण हुँदा रीस उठ्ने कुरालाई सामान्य मान्न सकिएला, तर के उ मरेको भए त्यसको सबैभन्दा बढी नोक्सानी हाम्रो पार्टी र माओवादी आन्दोलनमा पर्ने थिएन ? तर, त्यतिखेर हाम्रो पार्टीका केही नेतादेखि कार्यकर्तासम्मले यो कुरामा विचार पुर्याएजस्तो मलाई लागेन ।
शान्तिप्रक्रियामा आएदेखि नै अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतृत्वलाई युद्ध अपराधीको अभियोगमा ‘हेग’ मा उभ्याउनुपर्छ भन्ने अभियानमा एकथरि अभिजात वर्गका मानिसहरु लागेकै छन् । मेरो विचारमा यदि त्यो युवक कुटपिटबाट मरेको भए प्रचण्डलाई हेग लाने बाटो खुल्न सक्थ्यो । त्यतिखेर हेग अभियानमा लागेकाहरू सबैभन्दा खुसी हुने थिए । देशको राजनीतिले नै अर्को मोड लिन पनि सक्थ्यो ।राजनीतिक नेतृत्वमाथि थप्पड प्रहार भएको यो नै पहिलो घटना होइन । यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा र काँग्रेस सभापति सुशील कोइरालामाथि काठमाडौंमै कार्यकर्ताले हात लगाएका थिए । ती दुवै घटनामा संलग्नले माफी पाउने, अनि गलतै भएपनि प्रचण्डमाथि हात उठाउनेले चाहिँ सार्वजनिक सञ्चारमाध्यमका अगाडि दिनदहाडै मृत्युदण्ड पाएको भए के हुन्थ्यो होला ? यो कुरा नबुझेर ममाथि पार्टीभित्रैका केही मान्छेले अनेकथरि आरोप लगाए र लगाइरहेका छन् । मलाई मान्छेहरूले भनिरहेका छन् । ‘प्रचण्डलाई मायाँ गरेजस्तो पनि गर्ने अनि आक्रमणकारीलाई पनि जोगाउने’, यो द्वैध चरित्र भयो ।
कतिपयले समाचार दैनिकको प्रसंगलाई पनि यसैमा जोड्ने गरेको सुनेको छु । पार्टीको योजना र हाम्रो पहलमा समाचार दैनिक सात महिनासम्म चल्यो । पछि त्यो बन्द भयो । समाचार बन्द भएपछि म एकपटक मात्र लाजिम्पाट पुगेको छु । त्यसयता मेरो र प्रचण्डबीच भेटघाट पनि भएको छैन । समाचारको प्रकाशन जसरी बन्द भयो, अवश्य पनि त्यसमा मसहित हाम्रो टीमका केही गुनासा छन् । म कसैमाथि आरोप लगाउन त चाहन्न, तर के नेतृत्वको वैचारिक र भौतिक दुवै सुरक्षाका लागि सधैं सचेत भइरहने म प्रचण्डविरोधी र परिणामको ख्यालै नगरी उग्रता देखाउनेहरु धुरुन्धर प्रचण्ड पक्षधर हुनसक्छन् ?
टेलिभिजनको पर्दामा आक्रमणकारी युवालाई जोगाउन मैले खेलेको भूमिका देखेर स्वदेश र विदेशबाट समेत साथीहरुले टेलिफोन गरेर बधाइ दिइरहेका छन् । त्यतिमात्र होइन, हाम्रो पार्टीबाट अलग्गिएर गएको वैद्य माओवादीभित्र यो पहलकदमीबारे सकारात्मक कुरा हुन लागेको छ भन्ने सुनेको छु । जबकि उनीहरूको समूहभित्रका केही मान्छे एउटै पार्टीमा छँदा पनि मप्रति कहिल्यै सकारात्मक थिएनन् । यसबाट पनि मलाई झन् ठीक गरिएछ भन्ने लाग्न थालेको छ । घटनापछि बसेको पार्टी पदाधिकारी बैठकले अध्यक्षमाथि भएको हातपातबारे जुन निस्कर्ष निकाल्यो, त्यसबारे भन्दा पनि बाहिर प्रचारात्मक जे भयो, मेरो विचारमा त्यसो नगरेको भए हुन्थ्यो । निश्चय नै घटना अराजक, निन्दीय र गम्भीर हो । तर, पार्टीका तर्फबाट जसरी त्यसलाई सामान्यीकरण गरिनुपथ्र्यो त्यो हुन सकेन ।
(लेखक एमाओवादी सम्वद्ध हुन्)
+ comments + 1 comments
yo thik kura ho yastai yastai sabai neta maa chetana bhayo bhane nepal chandai nai pragati garla tara sabai netako buddi maa birko lageko le gardaa nai ajj yo rup hun aayako ho
Post a Comment