साताको दुई दिन बिदा केही समयलाई स्थगित

काठमाडौं, कार्तिक २० - सरकारले सम्पूर्ण सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय केही समयका लागि स्थगित भएको छ । मन्त्रिपरिषद मातहतको प्रशासन समितिमा मन्त्रीहरूले दुई दिन बिदा दिनेबारेमा थप छलफल र पुरानो अनुभवको अध्ययन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेपछि त्यसबारेमा केही दिनपछिमात्र निर्णय हुने जानकारी प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले दिए । मन्त्रिपरिषदले एक महिनाअघि ऊर्जा मन्त्रालयको प्रस्तावमा लोडसेडिङ न्यूनीकरण कार्ययोजना पारित गर्ने क्रममा इन्धन र ऊर्जाको खपत घटाउन सम्पूर्ण सरकारी कार्यालयमा कात्तिक १५ देखि साताको दुई दिन बिदा दिने सैद्धान्तिक निर्णय गरेको थियो । तर, मन्त्रिपरिषदले कार्ययोजना पारित गर्दा साताको थप कुन दिन बिदा दिने र कार्यालय समय कति तोक्ने भन्ने निर्णय गर्न बाँकी थियो । गृह मन्त्रालयले कात्तिक १५ देखि नै सातामा शनिबार र आइतबार दिने तथा कार्यालय समय आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म गर्ने प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषदमा पेस गरेको थियो । गृह मन्त्रालयले ऊर्जा, इन्धन र खानेपानीको खपत घटाउन तथा वातावरण प्रदूषण घटाउन अन्तर्राष्ट्रिय प्रचलनअनुसार साताको दुई दिन शनिबार र आइतबार बिदा दिने र कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रिपरिषद मातहतको प्रशासन समितिमा शुक्रबार छलफल गर्ने क्रममा मन्त्रीहरूले गृहको प्रस्तावमा निष्कर्षमा पुग्न थप छलफल गर्नुपर्ने धारणा राखेपछि साताको दुई दिन बिदा दिने निर्णय केही समयका लागि पछि सरेको जानकारी मन्त्रिपरिषद्का एक उच्च अधिकारीले दिए । ती अधिकारीका अनुसार प्रशासन समितिले यसअघि राजधानीमा मात्र साताको दुई दिन बिदा गर्दा आमजनतामा सरकारी सेवा प्रवाहमा परेका सकारात्मक तथा नकारात्मक असर तथा ऊर्जा, इन्धनको खपत घटी वातावरणमा परेको प्रभावबारेमा अध्ययन गरेर गृहको प्रस्तावमा निर्णय गर्ने जानकारी ती अधिकारीले दिए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger