घर भित्रको थामसँग बिहे गर्ने सोल्टिनी कै जित (फोटोफिचर सहित)
"मेरो सोल्टिनी फुल जस्तै फुलेकी"-यो गीत गुरुङ भाषामा 'ङै ङोल्स्यो ट ढोले पार्बा' बोलमा न्यूयोर्कको क्विन्स शहरको इगल थिएटरमा गुन्जिदा हलमा उपस्थित दर्शकहरु एक्कै छिन नेपाल पुगे आ-आफ्ना मायालुहरुलाई सम्झिदै।
हिजो दिउसो यहाँ 'ङै ङ्हो' (मेरो भाग्य/My Fate) नामक गुरुङ भाषा र सङ्स्क्रितीमा आधारित चल्चित्रको प्रदर्शन भएको थियो। र, यो पन्क्तिकार तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका अध्यक्ष्य टिका गुरुङले अपर्झट निम्तो दिए पछि उक्त चल्चित्र हेर्न त्यहाँ पुगेको थियो।
चल्चित्रको कथा बस्तु:
उक्त चल्चित्रको कथा बस्तुअनुसार नायिका बसन्ती गुरुङले गाउँले सोल्टिनी 'दया' को भूमिका खेल्दै फुपु (कुबिना गुरुङ) को जिद्दीमा फुपुको बजारमा पढ्न गएको छोरो सोल्टी 'मिनप्रशाद' (गमन गुरुङ) को नाउमा फुपुको घर भित्रको काठको थामसँग बिहे गर्दछिन्।
यता शहरमा 'मेजर दिपक' (लालकाजी गुरुङ, यो चल्चित्रको कथाकार र निर्माता पनि) कि लाड्ली छोरी 'डिम्पल' (सनम गुरुङ) को प्रेम र जिद्दीमा फँसेका मिनप्रशादको दसा तब हेर्न लायक हुन्छ जब डिम्पल मिनलाई खोज्दै गाउँ पुग्छिन्।
कथा जति रोचक छ, उतिनै नाटकीय पनि छ तर यस्तो चलन गुरुङ र मगर समाजमा उहिले उहिले कायम थियो र अझै पनि लाहुरे सोल्टीको फोटो हेरेर बिहे गरिने चलन रहेको कुरा निर्देशक भोज गुरुङले काठमाडौंबाट फोनमा युएस नेपाल अनलाइनलाई बताए।
जे होस्, गाउँले सोल्टिनी कै जित हुन्छ यो चल्चित्र मा, शहरकी डिम्पलले स्याक्रिफाइस गर्छिन्। उनलाई अर्को जोडी भेटाउने चाँजो भने अर्को चल्चित्रमा हुनेछ।
निर्माता तथा कथाकार लालकाजी गुरुङका अनुसार रु. ८ लाखमा मुनाल फिल्म प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्र नेपालको पोखरा, बेलायतका बिभिन्न शहरहरुमा, अमेरिकाको बाल्टिमोरमा प्रदर्सन पछि यस पटक न्यूयोर्क शहरमा देखाइएको हो।
तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाले चल्चित्र प्रदर्शन अघी निर्माता तथा कथाकार गुरुङको सम्मानमा राखेको अभिनन्दन कार्यक्रममा बोल्दै उनले यो चल्चित्र बनाउने कारणबारे भने -"म सानै देखी गाउँमा हुर्केको गुरुङ केटो हो तर नौ कक्षा मा पढ्दै गर्दा ब्रिटिश आर्मीमा भर्ती भएर १९ बर्ष बिदेशमा बिताउनु पर्यो। पेन्सन आए पछि तीन साल नबित्दै अमेरिका आएँ र यतै छ बर्ष बित्यो। तर मेरो मनमा आफ्नो गुरुङ भाषा, सँस्कृतिप्रति केही गर्नु पर्छ भन्ने भावना सधैं रहेको हुन्थ्यो। त्यसैले गत साल नेपाल गएर यो चल्चित्र बनाएँ।"
निर्माता र कथाकार गुरुङ अहिले बेलायत (यूके) निवासी हुन् भने अमेरिकामा पनि उनी आई बस्छन्।
उनले चल्चित्र हेर्न आएका शुभचिन्तक न्यूयोर्कबासी गुरुङ र नेपालीहरुलाई यो पनि भने- "हाम्रो सँस्कृतिलाई हामीले संसारको जुन सुकै कुनामा भए पनि बिर्सनु हुन्न। जहाँ भए पनि हामी गुरुङ नै हौं र नेपाली नै हौं। त्यसैले हामीले हाम्रो देश र भाषा-सँस्कृतिलाई माया गर्नु पर्छ र व्यबहारमा प्रयोग गर्नु पर्छ। तब मात्र यि कुराहरु बचाउन सकिन्छ।"
उता निर्देशक भोज गुरुङका अनुसार यो चल्चित्र हालै इन्डिजेनस अर्काइभको आगामी चल्चित्र महोत्सबको लागि चुनिएको जानकारी गराए। निर्देशक गुरुङको यो तेस्रो निर्देसन हो। उनी मुनाल फिल्मका प्रोप्राइटर, सम्पादक, निर्देशक र सिनेमाटोग्राफर पनि हुन्।
उनका अनुसार हालसम्म नेपालमा ४६ वटा गुरुङ चल्चित्रहरुको निर्माण र प्रदर्शन भईसकेको छ भने ३ वटा चल्चित्र निर्माणाधिन अवस्थामा छ।
Labels:
Kollywood








Post a Comment