देश-परदेशबाट 'आमा घर' लाई सहयोग
काठमाडौं, कार्तिक १४ - असहाय आमाहरूका लागि काठमाडौं, रवी भवनको उदयबस्तीमा व्यक्तिगत पहलमा १७ वर्षदेखि सञ्चालित 'आमा घर' लाई देश-विदेशबाट लाखौं सहयोग जुटेको छ । घरबार विहीन ५ असहाय आमाहरूबाट सुरु भएको घरमा अहिले ३९ आमा, ५ बा र ४९ छोरा-छोरी गरी ९३ जना संरक्षित छन् ।
स्थानीय दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमा घरलाई सोमबारमात्रै संयुक्त अरब इमिरेष्ट्स (युएई), अष्ट्रेलियाका कार्यरत नेपाली र स्थानीयले करिब ३ लाख रुपैयाँ नगद तथा सामग्री सहयोग गरे । नेपाली कल्याणकारी समिति, युएईले आमा घरका लागि दुवईमा साँस्कृतिक कार्यक्रमै गरेर उठाएको २ लाख २५ हजार रुपैयाँ श्रेष्ठलाई हस्तान्तरण गर्यो ।
असहायहरूका लागि श्रेष्ठले गरेको योगदानको मिडियाबाट थाह पाएपछि आमाहरूलाई राहत दिन तीजको बेला साँस्कृतिक कार्यक्रम गरी संकलन गरेको रकम दुवईमा कार्यरत समितिका सल्लाहाकार निमेष गिरीले बताए । 'कान्तिपुर टिभीको दिशानिर्देशमा विजयकुमारले दिलशोभासँग लिएको अन्तर्वाता सुनेपछि सहयोग मा जुट्यौं' गिरीले भने- 'उठेको रकम सही ठाउँमा प्रयोग गर्न सकियोस् भनेर यहाँ दिएका हौं ।'
साँस्कृतिक कार्यक्रमकी कलाकार संयोजक रेखा घिमिरेले श्रेष्ठलाई नगद हस्तान्तरण गर्दै परदेशमा बचेको समय सामाजिक काममा लगाउन प्रेरणा मिलेको सुनाइन् । 'हामीले यो रकम बुझाएर तपाई (श्रेष्ठ) लाई बिर्सने छैनौं' दुवईमा साँस्कृतिक कार्यक्रम गर्दाको ब्यानर टाँगिएको आमा घरमा रकम दिँदै उनले भनिन्- 'फेरी अरु सहयोग जुटाउन लाग्ने छौं ।' रकम हस्तान्तरणमा श्रेष्ठको योगदानको कदर गर्दै गिरीले तयार गरेको गीत घिमिरे सुनाएकी थिइन् ।
श्रेष्ठले देश-विदेशबाट नगद, सामग्री तथा मर्मत संभारको सहयोग जुटिरहेको बताउँदै कसैलाई पनि सडकमा मागेर जीवन बिताउन नपरोस् भनेर लागी परेको बताइन् । 'यहाँ (आमाघर) मा बस्न नागरिकता चाहिँदैन, न कसैको सिफारिस चाहिन्छ, सडकबाट उठाएर ल्याई दिनुभए वा खबर दिनुभए हुन्छ' ५९ वर्षीया श्रेष्ठले भनिन्- 'देश-विदेशबाट मिलेको सहयोग ले म धेरै उत्साहित भएकी छु ।'
आफ्नो माइतीले बनाई दिएको ४ तले २० कोठाको घरमा श्रेष्ठले सहसायहरूको पालन पोषण गर्दै आएकी छन् । स्थानाभावले ५ बा र १५ छोरा-छोरीलाई उनले गुर्जुधारा बहिनीको घरमा राखेकी छन् । छोरा नजन्मेको निहुँमा श्रीमान्द्वारा परित्यक्त एक छोरीकी आमा श्रेष्ठले परिवारबाट सहयोग नपाएका आमाहरूको सेवाका लागि सुरुवात गरेकी थिइन् ।
उनको सेवाको प्रशंसा गर्दै आफ्नो जन्मोत्सवको अवसरमा नेपाल बैंकबाट सेवा निवृत्त लाजिम्पाट निवासी महेश्वरलाल श्रेष्ठ, ६२ले सोमबार खानाको लागि १० हजार रुपैयाँ प्रदान गरे । कोटेश्वर निवासी उपेन्द्र पोखरेलले २ वर्षीया छोरी सौभीको आउँदो जन्मोत्सवको उपलब्क्षमा २ सय ५० लिटर पानी तताउने क्षमताको सोलार प्यानल आमाघरमा जडान गरिदिने बचन दिए ।
अष्ट्रेलियामा कार्यरत अभिभावकहरूले आफ्ना छोरी क्रिष्टिना अर्याल (गोरखा) र निकिता पराजुली (महाराजगंज) को नाममा अष्ट्रेलियन डलर २ सय हस्तान्तरण गरे । थप रकमका लागि दाइहरूले पहल गरेको जनाए ।
हाल आमाघरमा २ वर्षकी बालिकादेखि ९३ वर्षका बासम्मले सेवा पाएका छन् । 'तातो मिठो खाना र न्यायो बस्न पाएकी छु' ५५ वर्षीय दृष्टिविहीन आमा धनलक्ष्मी शाहीले हातको सहाराले चाऊचाऊ, विष्कुट र चकलेटका खोलको ढकिया बुन्दै ईकान्तिपुरलाई भनिन्- 'मेरो अरु को छ र, १० वर्षदेखि उहाँ (श्रेष्ठ) ले नै सहारा दिएर राम्ररी बस्न पाएकी छु ।'
श्रेष्टका अनुसार आमा घरको खबर सञ्चारमाध्यमहरूमा आउन थालेपछि विभिन्न सहयोग जुट्ने क्रम निरन्तर छ । घरको भर्याङ, भान्सा, कोठा मर्मत, लत्ता, कपडा, खाद्यान्न, औषधी उपचार लगायत सहयोग मिलेको छ ।
श्रेष्टलाई हालै अमेरिका बेलाएर त्यहाँस्थित नेपालीले आर्थिक सहयोग सहित सम्मान समेत गरे । एनआरएन तथा अमेरिकामा रहेका नेपालीले २/३ सयलाई सेवा दिन सक्ने घर निर्माणको लागि समेत बचन दिएका छन् । ब्रिटिस गोर्खा बीच परिचित 'बीएफबीएस रेडियो' को प्रसारणबाट विभिन्न समयमा गरी ७ लाख रुपैयाँ उठेको स्टेशन म्यानेजर विनोदध्वज खड्काले बताए ।
एनआरएनए नर्वे र इजराईलमा बस्ने नेपालीले असहायको सेवामा सहयोग पुर्याउन २/२ कर्मचारी सहयोग गरेका छन् । करिब १२ लाख रुपैयाँ हाल नगद संकलन भएको बताउँदै श्रेष्ठले अक्षयकोष खडा गरी यसलाई बढाउने सोच बनाएकी छन् ।
उनले सञ्चारमाध्यमको योगदानको चर्चा गर्दै त्यसैको कारण ठूलो सहयोग जुट्न सम्भव भएको सनाइन् ।
श्रेष्ठले सहयोग गर्ने थुप्रै भएको सुनाउँदै कुनै संस्था, व्यक्तिले आफ्नो नाम मिडियामा नलिइदिएकोमा गुनासो गरेको दुखेसो पोखिन् । ‘मैले सबैको नाम लिन/सम्झिन पनि त सक्दिन,' उनले भनिन्- 'नाम लिन नसके पनि उहाँहरूले दिएको एक पैसा सहयोग होस् वा एक पोका नुन सबै हिसाब राखेकी छु ।'
Labels:
National News

Post a Comment