'एमाओवादीले सत्ताकब्जा गर्‍यो, फुत्काउन गाह्रो परिरहेछ'

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिका एक प्रमुख पात्र हुन् । शान्ति प्रक्रियाको सुरुवातदेखि नै उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । त्यही कारण एमाओवादी अध्यक्षलगायत अन्य पार्टीका थुप्रै नेतासँग उनको निकट सम्बन्ध रहँदै आएको छ । प्रमुख राजनीतिक दलहरुबीच हुने शीर्ष वार्तामा सहभागी हुने उनी पछिल्लो समय राजनीतिक निकास ननिस्केकोमा निकै चिन्तित देखिन्छन् । छिट्टै समस्या सुल्भिmनेमा पनि उनी त्यति आशावादी छैनन् । समग्र राजनीतिक परिस्थितिबारे उनीसँग कान्तिपुरका सरोजराज अधिकारी र सन्जय न्यौपानेले शनिबार गरेको संवाद: दसैं कस्तो रह्यो ? राम्रै रह्यो । पारिवारिक वातावरणमा सधैं दसैं मनाउने गरेको छु । साथीभाइको बीचमा मनाउने गरेको छु । पारिवारिक परिवेश, मित्रजन र आफन्तजनका बीचमा दसैं राम्रै ढंगले मनाइयो । देशको अवस्था राम्रो छैन । तर पनि पारिवारिक र सामाजिक जीवन त चलिरहन्छ । दुःख, कष्ट र अप्ठेराका बीचमा पनि जीवन चलिरहन्छ । समग्रमा राम्रै भयो । तपाईंले राम्ररी नै मनाउनुभएछ । तर तपाइ (नेता) हरूले देशलाई राजनीतिक दिशा दिन नसक्दा जनताको दसैं त राम्रो भएन नि ? मैले व्यक्तिगत रूपमा र एमाले पार्टी वा प्रतिपक्षीको हिसाबले भन्नुहुन्छ भने हामीले पूरै आफ्नो ठाउँबाट अधिकतम लचकताका साथ भूमिका निर्वाह गर्दै आएका छौं । तर ताली दुई हातले बज्छ । हाम्रो हात जतिसुकै अगाडि बढे पनि अर्को हात अगाडि बढेन भने ताली बज्दैन । दुवै पक्षको अग्रसरता र तत्परता भएन भने एक्लै हुँदैन । एमाओवादीमा त्यस्तो तत्परता देखिएन । एमालेले भूमिका खेल्यो भन्नुहुन्छ । एमालेको नेतृत्वमा दुईवटा सरकार बने तर केही भएन नि ? 'अनमिन' लाई फिर्ता गरियो । आजसम्म सिरिया, लिबियादेखि लेबनानबाट यूएन मिसन फिर्ता भएको छ ? नेपालबाट अनमिन फिर्ता पठाइदिएर शान्ति प्रक्रियालाई छिटो टुंग्याउन महत्त्वपूर्ण र ऐतिहासिक भूमिका खेलेका छौं । माओवादी सेनाको कारणले गर्दा ३ वर्ष ९ महिनाको समय त्यतिकै खेर गयो । संविधान निर्माणको सन्दर्भमा भनेको ? शान्ति र संविधान जोडिएका विषय हुन् । सविधानको काम किन अगाडि बढेन भने शान्तिको कारणले गर्दा हो । माओवादीको शिविर र त्यहाँका माओवादी लडाकाका कारण हो । यो काम टुंग्याउन हामीले कति-कति धेरै पसिना बगाउनुपर्‍यो, कति जुध्नु पर्‍यो, कति बैठक बस्नुपर्‍यो, कति समय खर्चिनुपर्‍यो, यो त सबैलाई हेक्का हुनुपर्ने हो । तपाइले शान्तिप्रक्रिया टुंगियो भने संविधान निर्माणको काम सलल खोलो जसरी बग्छ भन्नुभएको थियो । २०६८ चैत २८ गते शिविरमा सेना परिचालन भएपछि तपाईंहरूले सेना समायोजनको काम सकियो भन्नुभएको थियो । तर संविधान निर्माण त अगाडि बढ्न सकेन नि ? भयो, किन भएन ? २०६९ वैशाख २१ गते लगभग सहमति गरिसकेका थियौं हामीले । जेठ २ गते त सहमति भएकै हो । संघीयतासहितको संविधानका सबै विषयमा सहमति भएकै हो । जेठ २ गतेको सहमतिको कागज हेर्नुस् । के चीज बाँकी थियो ? तर सहमतिबाट एमाओवादी पछाडि हट्यो । मैले अघि पनि भनें- सलल बग्ने प्रक्रियाका लागि पनि त दुवै पक्षको उत्तिकै अग्रसरता चाहिन्छ । कसैले बेइमानी गर्छ भने तपाइर्ं के गर्न सक्नुहुन्छ ? एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले त्यही जेठ २ गतेको सहमति कार्यान्वयन गरौं, अघि बढौं भन्नुभएको छ । किन नमान्नुभएको ? त्यही त अब हामी पत्याउँदैनौं । पहिला पनि यसो गरौं भन्नुभो, सहमति गरियो । फेरि उहाँ पछाडि हट्नुभो । कुन मितिमा गरेको सहमति उहाँले मान्नुभएको छ ? तर फेरि पनि बसौं । नबसेर, छलफल नगरेर उपाय छैन । सहमति नगरी उपाय छैन । उहाँले सहमति गर्ने, त्यसबाट पछाडि हट्नेचाहिँ किन गर्नुभएको होला ? एउटा त उहाँमा अस्थिरता छ । कुनै पनि कुरा सोचेर, विचार गरेर नचल्ने प्रवृत्ति छ, 'हि्वम' का आधारमा चल्नुहुन्छ । चल्यो झोंक, ल्याइहाल्यो विचार । घाम-पानीजस्तै तुरुन्तै फेरिइरहने बानी रहेछ उहाँमा । बचनमा पक्का हुनुहुन्न । हामी बोलिसकेपछि लाग्छ, अब बाँधियौं । तर उहाँलाई त्यस्तो लाग्दैन रहेछ । उहाँको सबैभन्दा ठूलो कमजोरी नै त्यही हो । त्यो उहाँको बानी हो कि, नियतबस त्यस्तो व्यवहार देखाइरहनुभएको होला ? उहाँमा आत्मकेन्दि्रतपन ज्यादा छ । आफूलाई केन्द्रबिन्दुमा राखेर चल्ने प्रवृत्ति छ । र, अप्ठेरो स्थिति, चुनौतीको सामना कसरी गर्ने भन्ने विषयमा राम्रो सोचाइको अभाव पनि छ । आज (शनिबार) तपाइहरूबीच भएको भेट कस्तो रह्यो ? उहाँ आत्मालोचित भएरै प्रस्तुत हुनुभयो । फेरि नयाँ ढंगले विश्वासको वातावरण बनाएर जाउँ भन्नुभएको छ । नेपालीमा एउटा उखान छ, ढाँटको निम्तो खाइ पत्याउनु । यसलाई मैले अर्को भाषामा भन्ने गर्‍या छु, शंकाको सुविधा । प्रचण्डजीलाई फेरि पनि शंकाको सुविधा दिएर चल्नुपर्छ । अर्को उपाय केही छैन । आज केही प्रस्ताव राख्नुभो ? सहमति भएको कुरालाई सहमतिका रूपमा लिएर जाउँ, असहमति भएका कुरामा छलफल चलाउँ र छिटै यसबारे टुंगो गरेर सहमतिका साथ संविधान जारी गरेर चुनावमा जाने काम गरौं भन्नुभयो । बाँकी कुराको टुंगो लगाउन सहमतिको सरकार पनि बनाउँ भन्ने कुरा उहाँले ल्याउनुभएको छ । होइन चुनावमै जाने हो भने यही सरकारलाई कायम राखौं, त्यो उपयुक्त हुन्छ भन्नुभएको छ । मैले दोस्रो कुरालाई ठाडै अस्वीकार गरिदिएँ । हुँदैन भने । सहमति र असहमतिका कुराचाहिँ के-के थिए ? यसबारे हामी विस्तृत रूपमा गएनौं । सहमति के र असहमति के भन्नेबारे कुरा भएन । भनेपछि तपाईंहरूको भेटघाट जनतालाई देखाउन र राजनीतिक खपतका लागि मात्र हुने रहेछ । ठोस रूपमा भएको त पाइँदैन नि ? यही हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । हाम्रोतर्फबाट सधैं के प्रस्ताव हुन्छ भने जति सहमति भएका छन्, त्यसलाई लिखितम गरौं । बरु रेकर्ड गरौं । तब बाँधिने स्थिति बन्छ । अहिले बाँधिने प्रवृत्ति छैन । के-के सहमति भए, के-के बाँकी छन् भनेर जनताले कसरी थाहा पाउने ? हामीले हाम्रो छलफलको परिणाम देखिनुपर्‍यो भन्ने गरेका छौं । लिखित गरौं, माइन्युट राखौं । के-के विषयमा सहमति भयो, के-के विषयमा कस-कसको के असहमति भयो भनेर लिखत गरौं भनेका छौं । हामीले मात्र भनेर भएन । भएका कुरा पालन हुनेमा पनि समस्या छ, तैपनि हस्ताक्षर त हुनुपर्‍यो, आजका बैठकमा यति सहमति भयो भनेर । राजनीति कुन दिशातिर उन्मुख छ जस्तो लाग्छ ? एमाओवादीमा सद्बुद्धि पलाउने हो भने सहमति गर्न गाह्रो छैन । किनकि चाबी उसैको हातमा छ । एमाले-कांग्रेस लचिलो छ । तर एमाओवादी 'रिजिड' देखिएको छ । एमाओवादीले किन सहमति नचाहेको होला त ? एमाओवादी जनतामा सबै चीज आफूले गरेको भनेर जस लिने र भोलिको चुनावको परिणामलाई प्रभावित पार्ने दाउमा छ । देशलाई अहित भए पनि आफ्नो पार्टीको हित हेर्ने एमाओवादी चिन्तनको समस्या हो । एमाओवादीले के-के गर्‍यो भने समस्या हल हुन्छ ? एमाओवादीले सहमति भएका कुरा टुंगो लगाउ भन्ने कुरा मान्नुपर्‍यो । मानेर मात्र भएन काम पनि गर्नुपर्‍यो । त्यसपछि असहमतिका विषयमा छलफल चलाउनुपर्‍यो । तर जहिल्यै कुरा अधुरो हुन्छ । बस्यो छलफल गर्‍यो, सबै कुरा टुंगिंदैन । अनि फेरि दुई महिना बिताइदिन्छन् । विगतदेखि नै संविधानका विवादित विषयसँगै सरकारको नेतृत्वलाई पनि जोड्ने गर्दा समस्या बल्भिmएको छ । त्यसलाई अलग गरेर समाधान खोज्न सकिंदैन ? अहिलेको यो सरकार रहुन्जेल सकिंदैन । यो सरकार भ्रष्ट छ, सहमतिको बाधक छ । सहमति तोड्ने कारक छ । त्यसो हुनाले यो सरकार परिवर्तन हाम्रो सर्त बन्ने गरेको छ । सरकार परिवर्तन तपाइहरूको पहिलो सर्त हो ? सहमतिका लागि अघि बढ्ने प्रक्रियामा पहिलो सर्त नै हो । विगतमा एमाओवादीले नै यसको सुरुवात गरेको हो । त्यसको परिणाम उसले भोग्नुपर्छ । एमाओवादीले सुरु गर्‍यो, अब तपाईंहरू खत्तम गर्ने 'मुड’ मा हुनुहुन्छ ? यो सरकार छाड्छांै भनेर त माओवादीले मानिसकेको हो । त्यसअघि संविधानसभाबाट संविधान जारी गर्ने भन्ने सहमति थियो नि, होइन ? कांग्रेसको कमजोरी नै त्यही हो । मैले त संविधानसभाबाट संविधान जारी गर्ने कुरा नलेख्नुस् भनेको थिएँ । यति गतेभित्र, यो सरकारले छाड्ने भनेर लेख्नुपर्छ भनेको थिएँ । मैले सरकार फेर्ने कुरालाई संविधान घोषणा गर्ने कुरासँग नजोड्नुस् भनेको थिएँ । जेठ १४ सम्म संविधान जारी गर्ने हो भने वैशाख मसान्तसम्म सरकार फेर्ने कुरा राखौं भनेको थिएँ । त्यसो हुँदा परिवर्तन गर्न नमान्दा अविश्वास प्रस्ताव ल्याउन सकिन्थ्यो र सरकार पनि सहमतिका लागि हतारिन्थ्यो । तर सहमति गरेर सरकार फेर्नेभन्दा उसले त्यो सहमति नै गर्दैन भनेको थिएँ । म भन्दा-भन्दा थाकें । जसलाई प्रधानमन्त्री चाहिएको छ, त्यो पार्टी नै लचिलो हुन्छ भने हामीले गर्ने के ? कांग्रेस के कुरामा फकियो-फकियो ! विवादित विषय सुल्झाउँदा-सुल्झाउँदै संविधानसभाको समय सकिएको हो कि यसको पछाडि कुनै नियत थियो ? एमाओवादी र मधेसवादीको सरकार छाड्न नपरे हुन्थ्यो भन्ने नियतले यसमा काम गरेको थियो । संविधानसभाको आयु बढायो भने तपाईंहरूले अविश्वास प्रस्ताव ल्याएर हामीलाई हटाउने भनेर प्रचण्ड र विजयकुमार गच्छदार आफैंले भनेका हुन् । तपाईंले एमाओवादीले आन्दोलन गरेर मुलुक नै अस्तव्यस्त बनाउँदासमेत सत्ता छाड्नुभएन । यतिखेर विपक्षी गठबन्धनको वक्तव्यबाजीकै भरमा एमाओवादीले सत्ता छाड्ला ? मेरो सामुन्ने त अरू ठूलो संकट थिएन । मैले चाहेको भए त पेलेरै लान सक्थे तर चाहिनँ । किनकि, मसँग त संसद् थियो नि र केही मान्छे आत्तिए, एमाओवादीले ठूलो गडबड गर्ला भनेर । धेरैले विश्वास गरेर धोका पाए, कम्तीमा मैले सामना त गरें, टक्कर लिएँ । कल्पना नगरेको शिविरलाई विशेष समितिमातहत ल्याएँ । एमाओवादीको घमण्ड र अहंकारलाई चकनाचुर पार्ने काममा भूमिका त खेलियो । एउटा दलले अर्को दललाई चकनाचुर पार्ने, सिध्याउने खेलमै चलिरहेको छ है नेपालको राजनीति ? माओवादी पनि चकनाचुर पार्नै आएको हो नि ! संसदीय व्यवस्थालाई उसले चकनाचुर पार्‍यो । राजनीतिक प्रक्रियालाई बिथोलिदियो । देशमा अस्तव्यस्तता ल्यायो । त्रास, आतंक मच्चायो । मान्छेको ज्यान लिइदियो । देशलाई संकटको स्थितिमा पुर्‍याइदियो । उद्योगधन्दा, कलकारखाना बन्द गराइदियो । गणतन्त्र, संघीयता पनि सँगसँगै आएको होइन र ? उसले (माओवादीले) ल्याएको होइन, हामीले ल्याएको हो । जब ज्ञानेन्द्रले हामीमाथि हात हाले, त्यसपछि हामीले गणतन्त्र ल्याएको हो । एक-अर्कालाई चकनाचुर पार्ने भन्दा आपसमा मिलेर देशलाई अगाडि बढाउने दिशामा मुलुकको राजनीति कहिले पुग्ला ? त्यो त एकदमै राम्रो हुन्थ्यो । म त्यत्रो बहुमतको सरकारको नेतृत्व गरिरहेको थिए, साथ दिए हुन्थेन ? अहिले तपाईंहरूले बाबुरामजी -प्रधानमन्त्री बाबुराम भट्टराई) लाई साथ दिए हुँदैन ? अहिले बाबुरामजी त संसद् भंग गर्ने कारक तत्व हुन्, उनलाई किन मान्ने ? नयाँ प्रधानमन्त्री चयनको वैधानिक आधार नभएकाले अर्को विकल्प छैन नि त ? किन छैन ? वैधानिकता भनेको राजनीतिक निर्णय पनि हो । दुईवटा वैधता हुन्छ । एउटा संवैधानिक वैधता हुन्छ, अर्को राजनीतिक । संवैधानिक वैधता भनेको जनताबाट चुनिएको संसद्मार्फत हुन्छ । जब संसद् संकटमा हुन्छ भने राजनीतिक वैधतामा जानुपर्छ, राजनीतिक दलहरूमार्फत त्यसो गरिनुपर्छ । जबसम्म संवैधानिक रूपमा बलियो हँुदैन तबसम्म राजनीतिक पार्टीहरूको भूमिका रहिरहन्छ । सरकार फेर्न सक्ने त्यही राजनीतिक वैधताको उपयोग गरेर नयाँ संविधान जारी गरे हुँदैन ? हामीले त जेठ १४ मै त्यही भनेका हौं । सहमति भएका विषय थाँती राखेर संविधान जारी गरौं भनेकै हो । अहिले एमाओवादीले त्यही भनिरहेको छ तर तपाईंहरू मानिरहनुभएको छैन, होइन र ? कहाँ भनेको छ ? प्रचण्डजी १४ प्रदेश भनिरहनुभएको छ, १० प्रदेश भनिरहनुभएको छ । फरक मतका रूपमा आएका ७ र ११ प्रदेशलाई पनि अनुसूचीमा राखेर अर्को संसद्ले टुंग्याउने कुरा गर्ने भए हामी मान्न तयारै छौं । तिहारअघि केही नतिजा आउँला ? प्रचण्डजी आफ्नो अडानमा रहिरहनुभयो भने आउँछ, कुरा फेर्नुभयो भने आउँदैन । प्रचण्डसँग लामो संगत गर्नुभएको छ, उहाँ अडानमा रहनुहोला ? भन्न सकिन्नँ । भनौ, फेरि कुरा 'फेल' खान्छ । 'ढाँटको निम्तो खाइ पत्याउनु' भनेजस्तो होला । व्यवहार हेरौं न । तपाईं र प्रचण्डबीच व्यक्तिगत रूपमा आत्मीय सम्बन्ध छ भनिन्छ । उहाँको छोराले भगाएर तेस्रो विवाह गर्दा पनि तपाईंलाई पहिलो फोन गरेर दुखेसो गर्नुभएको थियो रे ? अन्य केही समस्या पर्दा पनि पहिले तपाईंलाई नै भन्नुहुन्छ रे ? आत्मीय सम्बन्ध आफ्नो ठाउँमा छ, राजनीति आफ्नो ठाउँमा छ, देश आफ्नो ठाउँमा छ । त्यसैले देश र जनताको हितलाई कुठाराघात गर्ने गरी व्यक्तिगत सम्बन्ध अगाडि जान सक्दैन । प्रचण्डजीले तपाइर्ंलाई विषवृक्ष भन्नुभयो, तपाइले लिट्टे बनाइदिन्छु भन्नुभयो । एकअर्कालाई गाली पनि खुबै गर्नुभयो । यो आत्मीयताकै अर्को पाटो हो ? अँ भनियो । त्यो अर्को पाटो नै हो । सँगसँगै चल्छ । रात र दिन सँगै हुन्छ । राजनीतिमा यस्तो भइरहन्छ । तपाईंलाई नमीठो लाग्ने प्रश्न हुनसक्छ । तपाईं र प्रचण्डको केही व्यावसायिक प्रतिष्ठानमा संयुक्त लगानी पनि छ रे नि ? (लामो हाँसो) धत् ! मैले पहिलोपटक तपाईंको मुखबाट सुन्दैछु । हामीले धेरै ठाउँबाट सुनेको भएर सोधेको ? कहाँ-कहाँबाट सुन्नुभयो । कहाँ लगानी छ रे ? हेल्लो नेपालमा के ? के-के ? कुन हेल्लो नेपाल ? मेरो पैसा ! ? मेरो लगानी ! ? त्यत्रो लगानी गर्नसक्ने स्थिति छ मसँग ? पर्दापछाडिबाट हुनसक्छ । प्रचण्डले पनि देखिने गरी त केही गर्नु भा’छैन होला नि ? प्रचण्डजीले त त्यत्रो विधि पैसा संकलन गर्नुभएको छ । उहाँले खुलेआम भन्नुभएको छ । १७ अर्ब लडाकुकै नाममा लिनुभएको छ । मेरो के छ माध्यम ? मैले आजसम्म भ्रष्टाचार गरेको छैन । कोही एकजना उभ्याउन सक्नुहुन्छ ? कोही छन् ? मैले कसैसँग पैसा लिएको छैन । पार्टीगत कुरा गर्नुहुन्छ भने पनि त्यस्तो केही छैन । बाहिर किन हल्ला गरेका त मान्छेहरूले ? खोइ केही थाहा छैन । मैले सुनेकै छैन वास्तवमा । बडो विचित्रको कुरा सुनियो । कसैले औलो ठड्याउन नसकेको मान्छेका बारेमा पनि यस्तो सोच्नेहरू रहेछन् । हेल्लो नेपाल के हो मलाई त त्यो पनि थाहा छैन, अहिलेसम्म । तपाईंको छोरा त्यहाँ काम गर्ने भएर हो कि ? मेरो छोरो ? कहाँ काम गर्छ ? मेरो छोरो बैंककमा एआईटीमा पढिरहेको छ । यहाँ हेल्लो नेपालमा कसरी काम गर्छ ? केही अघिसम्म त त्यहीं काम गर्नुहुन्थ्यो नि ? कहाँ हो हेल्लो नेपाल भनेको ? दाङमा रहेको अजेय सुमार्गीको मोबाइल कम्पनी के ? दाङमा ? ए, त्यहाँ ३/४ महिना काम गर्‍यो । त्यही भएर जोडेका होलान्, हैन ? काम गर्‍यो त के भयो ? लगानी भए त किन काम गर्नुपथ्र्यो ? मालिक भएर बस्थ्यो नि ! बिचरा भर्खर इन्जिनियरिङ पढेर आएको मान्छे, अभ्यासका लागि केही समय काम गर्‍यो । एआईटीमा भर्ना भएर पढ्न गयो, 'मास्टर्स' गरिरहेको छ । फेरि राजनीतिमै फर्कौ, तपाईंको विचारमा राजनीतिक गतिरोधको निकास के हुनसक्छ ? माओवादीले आफ्नो जिद्दी छाड्नुपर्छ । अरू कसैले पनि जिद्दी लिइरहेका छन् भने त्यो जिद्दी त्याग्नुपर्छ । कसले के जिद्दी लिएको छ, अलि बुझाइदिनुस् न ? जिद्दीको पाटो हेर्दा -माओवादी) संसदीय व्यवस्थामा आउनैपर्छ भन्ने सुशील कोइरालाको छ । त्यो उहाँले त्याग्नुपर्छ । प्रचण्डजीको चाहिँ संघीयता र सरकारका कुरामा छ, उहाँले पनि त्याग्नुपर्छ । शासकीय स्वरूपमा मिश्रति मोडल अपनाउनुपर्छ र एकल जातीय पहिचान त्याग्नुपर्छ । यसका लागि चाल्नुपर्ने कदमबारे एक, दुई, तीन गरेर भनिदिनुस् न ? पहिलो नम्बर सहमति भएका विषय कायम गर्ने । दोस्रो, संघीयता र शासकीय स्वरूपमा टुंगो लगाउने । तेस्रो, यी विषय टुंगो लागेपछि संविधान जारी गर्ने उपायको खोजी गर्ने । ती सबैका निम्ति यो सरकार फेर्ने र नयाँ सरकारले यी सबै प्रक्रिया अगाडि बढाउने । तपाईंले भनेका तीन काम सकेर सरकार परिवर्तन गर्ने कि, सरकार फेरेर यी काम गर्ने ? यी काम गर्नका लागि सहमति गर्ने, काम गर्ने होइन । सहमतिको दस्ताबेजसँगै सरकार परिवर्तन गर्ने । नयाँ सरकारले सबै प्रक्रियालाई अगाडि बढाउने । चुनावको घोषणा गर्ने, चुनावमार्फत नयाँ संसद् स्थापना गर्ने । कुरा धेरै ठूलो छैन । तर जसरी पनि सरकारमा बसिरहुँ, यसैलाई लामो समयसम्म लम्ब्याएर लैजाउँ र व्यापक आर्थिक कारोबार गरौं भन्ने ध्याउन्नले समस्या सिर्जना गरेको छ । पद पनि कब्जा गर्दै जाने, पैसा पनि कुम्ल्याउँदै जाने एमाओवादीको ध्याउन्न छ । तपाइर्ंसँग राज्यसत्ता सञ्चालनको लामो अनुभव छ, कति कुम्ल्याए होलान् अहिलेसम्म ? करिब १७ अर्ब त शिविरबाट कुम्ल्याए । पोखरा विमानस्थल निर्माणको सन्दर्भमा ५० लाख लिएको त स्वीकारै गरे । प्रत्येक व्यापारीले एमाओवादीले हामीसँग पैसा असुलेर व्यापार चौपट बनाए भनेर मलाई भनेका छन् । केही दिनअघि आर्थिक विषयको एउटा छलफल कार्यक्रममा व्यापारीले प्रधानमन्त्रीलाई भ्रष्टाचारमा तपाईंका मान्छे मुछिएका छन् भनेर मुख खोलेरै भने । तपाईंकै वरिपरिका मान्छे भने, त्यहीं हिसिला हुनुहुन्थ्यो । भनेपछि एक वर्षको राष्ट्रिय बजेट जति नै कुम्ल्याइसके कि के हो ? ठ्याक्कै रकम तोकेर त म भन्न सक्दिनँ, तर मान्छे भन्छन्- अबार्ंै अर्ब उठाएका छन् रे ! व्यापक रूपमा चन्दा असुल्ने क्रम अहिले पनि जारी छ । आजै पनि मैले प्रचण्डलाई यसरी पैसा असुल्ने काम बन्द गर्नुस् है भनें । एमाओवादी सत्ताकब्जाको रणनीतिमा छ भनेर तपाईंहरू भन्नुहुन्थ्यो, अर्को सरकार बन्ने कानुनी आधार नभएको अहिलेको अवस्था हेर्दा त सत्ताकब्जा भइसकेजस्तो देखिएन र ? सत्ताकब्जा त गरेकै छ । एमाओवादीको हातमा देश गएकाले नै त फुत्काउन गाह्रो परिरहेको छ । फुत्काउन गाह्रो परेको प्रमुख कारण नै त्यही हो । समयमा विचार नपुर्‍याउँदा यस्तो भएको हो । मैले त बारम्बार भनिरहेको छु- एमालेमात्रै एक्लै भुट्भुटिएर के हुन्छ ?
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger