एमाओवादीका तीन महत्वपूर्ण निर्णय
काठमाडौ, कार्तिक १२ -
ए माओवादी ले राजनीतिक सहमति, आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आइतवार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो ।
पार्टीलाई रुपान्तरण गर्ने सन्दर्भमा अध्यक्ष दाहालले अब सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी बहन गर्नु हुने भएको छ । त्यसैगरी, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास योजना र अर्थ विभागको जिम्मेवारी सम्हाल्नेछन् ।
अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुशासन फाँटको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । बैठकले महाधिवेशनका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरी केही निर्णयसमेत लिएको छ । बैठकले महाधिवेशन तयारी समितिको बैठक आगामी मङ्सिर ६ गते बोलाउने निर्णयसमेत गरेको छ ।
तयारी समितिको बैठक लगत्तै जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउने तथा पार्टीको महाधिवेशन तोकिएको समय आगामी माघ महिनामा सम्पन्न गर्ने अभियानमा एनेकपा माओवादी जुटेको छ । तयारी समितिको बैठकअघि नै दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले राष्ट्रिय सहमति निर्माण गरेर अहिलेको राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गरी निकास निकाल्न दलहरुबीचको वार्ता र छलफललाई गम्भीर महत्वका साथ तीव्रता प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष दाहालले राजनीतिक गतिरोध अन्त्य गर्ने सिलसिलामा शनिबार नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको कुराकानी र छलफलबारेमा बैठकलाई जानकारी गराए ।
वार्ता र छलफल अहिले निर्णायक टुङ्गोमा पुगिनसकेकाले दलहरुबीचको सहमतिका लागि छलफल र संवादलाई तीव्रता र निर्णायक तुल्याउने निर्णयसमेत बैठकले गरेको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल हुनुको नाताले, निर्वाचनको घोषणा गरेको सरकारको हैसियतले ए माओवादी कै नेतृत्वमा नयाँ निर्वाचनका लागि अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्दा न्यायोचित र उपयुक्त हुन्छ भन्ने आफ्नो दलको भनाइ रहेको बैठकपछि उपाध्यक्ष श्रेष्ठले संवाददाताहरुलाई बताए ।
–रासस
Labels:
National News

Post a Comment