निर्वाचनमा जाने कांग्रेसको निर्णय
१५ कात्तिक, काठमाडौं । पार्टीका केही शीर्ष नेताहरुले संविधानसभा पुनस्र्थापनामा अडान लिइरहेपनि नेपाली कांग्रेसले नयाँ निर्वाचनमा जाने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले गतिरोध अन्त्यका लागि चुनावमा जाने निर्णय गरेको हो । ‘संविधानसभाको चुनाव/संसदको चुनावमा जाने भन्ने निर्णय भयो’ पार्टी नेता अर्जुननरसिंह केसीले अनलाइनखबरसित भन्नुभयो-’बैशाखमा नयाँ चुनाव गर्नेबारे सर्वसम्मत्तिले निर्णय भएको छ ।’बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले भने चुनावमा जानको लागि पनि पुनस्र्थापना आवश्यक रहेको बताएका थिए । तर पुनस्र्थापना सम्भव नभएकाले नयाँ चुनावमै जानुपर्ने अधिकाँश नेताको जोड रहेकाले अन्ततः चुनावकै विषयमा निर्णय भएको हो ।’उहाँहरुले चुनाव मात्रै भन्न नहुने, अरु विकल्पमा पनि खुला रहनुपर्ने बताउनुभएको थियो’ पार्टी नेता शंकर भण्डारीले भन्नुभयो-’सहमति हुन्छ भने काँग्रेस जुन विकल्पमा पनि तयार रहने तर निर्णय चाहिँ चुनावमै जानुपर्छ भनेर गर्नुपर्ने कुरा भएको हो ।’
पुनस्र्थापना या चुनाव के भन्नेबारे बहस भैरहेकोबेला कांग्रेसले चुनावमा जाने निर्णय गरेको हो । एमालेले यसअघि नै चुनावमा जाने निर्णय गरिसकेको छ । कांग्रेसले सहमतिको लागि वर्तमान सरकार हट्नुपर्ने निष्कर्ष पनि निकालेको छ । ‘सरकार संवैधानिक तथा राजनीतिक दृष्टिकोणबाट पनि सत्तामा बस्न उचित छैन भन्ने निष्कर्ष निकाल्यौं’ भण्डारीले भन्नुभयो-’सहमतिको लागि वर्तमान सरकारले छोड्नुपर्छ, त्यसपछि जसको नेतृत्वमा पनि सहमतीय सरकार गठन गर्न सकिन्छ ।’
चुनावी सरकार कांग्रेस नेतृत्वमा उपयुक्त हुने पार्टीको धारणा रहेपनि आफूहरुको अडान यही भने नरहने उहाँले बताउनुभयो ।
OnlineKhabar
Labels:
National News

Post a Comment