बाढी पीडितका लागि बनाइएका बाँसका घर तीन वर्ष नपुग्दै भत्किए
१२ कातिक, कञ्चनपुर। कञ्चनपुरको देखतभुलीमा लाखौं रुपैयाँ खर्चिएर बाढी पीडित परिवारका लागि निर्माण गरिएका बाँसका घरहरु तीन वर्ष नपुग्दै भत्किएका छन् ।
समुदाय वातावरण तथा बाल विकास सङ्घ -ओसिड) कञ्चनपुर नामक गैरसरकारी संस्थाले दातृ संस्था हेविटाट हृयुमिनिटी इन्टरनेसनलको रु ५० लाख बढीको लागतमा बाढी पीडितका लागि ६० वटा घर निर्माण गरेको थियो । बीस वर्ष बढी टिक्ने भन्दै बाँसका घरहरु निर्माण गरी हस्तान्तरण गरिएको स्थानीय भागिरथी रानाले बताउनुभयो ।
झापाबाट किरा नलाग्ने उपचार गरिएका बाँस ल्याएर घर निर्माण गर्ने भनिए पनि स्थानीय बाँसकै प्रयोग गरी हतारमा घर निर्माण गरिएका कारण तीन वर्ष नपुग्दै घरहरु कामै नलाग्ने गरी भत्किएको उहाँले बताउनुभयो । डेढ फिट जमिन मुनि र डेढ फिट माथि पर्ने गरी सिमेन्टको पिलरमा बाँस ठड्याएर घर निर्माण गर्नु पर्ने भनी दातृ संस्थाले मापदण्ड तोकेको भएपनि मापदण्ड पूरा नगरी पैसा बचाउने तरिकाले बाँसका घरहरु निर्माण गरिनु घरहरु भत्किनुको मुख्य कारण रहेको स्थानीय बासिन्दाहरु बताउँछन् । ती घरहरु बस्न योग्य नभए पछि पीडितहरु आफन्त र यहाँका बाढी पीडितका शिविरहरुमा बस्दै आएका छन् ।
घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री दातृ निकायले उपलब्ध गराएको थियो । एक घर निर्माणको लागत रु ८० हजार बढी परेको स्थानीय भीम रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “झापाबाट प्राविधिक ल्याएर स्थानीयलाई घर निर्माणसम्बन्धी तालिम दिएर घर निर्माण गरेका थिए ।” “बीस वर्षसम्म घरलाई केही हँुदैन भनी घर हस्तान्तरण गरिएको थियो” राधेश्याम रानाले भन्नुभयो, “दुई वर्षको अवधिमै बाँसमा किरा लागेर घर ढले ।”
संस्थाले देखतभुली-९ कटानमा बाढी पीडितका लागि २४, सोही गाविसको वडा नं-६ को वैवाहापट्टमिा २५ र पाकडपट्टमिा ११ बाँसका घर निर्माण गरेका थिए । ओसिड नेपालका कार्यक्रम संयोजक गुणदेव पन्तले दातृ संस्थाले तोकेको मापदण्डअनुरुपनै बाढी पीडितका लागि घर निर्माण गरिएको दाबी गर्दै भन्नुभयो, “घर निर्माणका लागि दातृ संस्थाले दिएको रकम अपुग भएपछि घरबाट समेत डेढ लाख रुपैयाँ थपेर घर निर्माणमा लगानी गरिएको छ ।”
देखतभुली गाविसका सचिव केशव भट्टले गाविसमा कुनै पनि कार्य गर्नु पर्दा स्थानीय निकायसँग समन्वय गरेर कार्य गर्नु पर्नेमा उक्त संस्थाले समन्वय नगरिकन मनोमानी तरिकाले कमसल खाले घर निर्माण गरेको बताउनुभयो । रासस
Labels:
National News
Post a Comment