काँग्रेसको चियापान भोलि, एमालेको पर्सि
१२ कात्तिक, काठमाडौँ । विजयादशमी, दीपावली, इद, छठ तथा नेपाल संवतका अवसरमा हरेक वर्ष हुँदै आएको चियापान नेपाली काँग्रेसले भोलि र नेकपा (एमाले) ले पर्सि आ-आफ्ना पार्टी कार्यालयमा आयोजना गर्दैछन् ।
आपसी भेटघाट, शुभकामना आदानप्रदान गर्न चियापानको कार्यक्रम आयोजना गरिएको ती दलले जनाएका छन् । काँग्रेसको पार्टी कार्यालय सानेपामा भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गर्दैछ । एमालेले पर्सि १४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म आˆनो पार्टी कार्यालय, बल्खुमा चियापान कार्यक्रम आयोजन गर्दैछ ।
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले भारत निर्वासनबाट स्वदेश फर्किएपछि २०३३ सालदेखि कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गर्ने प्रचलन सुरु गर्नुभएको भने एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले चियापान कार्यक्रमको थालनी गर्नुभएको थियो ।
दुवै दलले चियापान कार्यक्रम प्रमुख दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कलाकार, साहित्यकार, पत्रकारलगायतलाई निमन्त्रणा गरेका छन् । रासस
Labels:
National News
Post a Comment