डीएसपीको लगत्तै महिला प्रहरीद्वारा आत्महत्या
काठमाडौ, कार्तिक १७ - नेपाल प्रहरीका डीएसपी वसन्तकुमार थापाले आत्महत्या गरेको भोलिपल्टै 'उनीसँग सम्बन्ध रहेकी' एक महिला प्रहरीले पनि आत्महत्या गरेकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी पवित्रा भट्टराईले आत्महत्या गरेकी हुन् । ललितपुरको धोबीघाटस्थित डेरामा झुन्डिएको अवस्थामा उनको शव फेला परेको ललितपुर परिसर प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए । परिसरको 'कन्ट्रोल कक्ष' मा काम गर्ने उनी र डीएसपी थापाबीच निकट सम्बन्ध रहेको पाइएको छ ।
उनको कोठामा डीएसपी थापा र जवान भट्टराईको फोटो एल्बम पनि भेटिएको छ । 'उनीहरूबीच सम्बन्धको रूप थाहा नभए पनि निकट भएको स्पष्ट हुुन्छ,' एसएसपी श्रेष्ठले भने, 'यही विषयमा विवाद भएर आत्महत्या गरेको हुुनसक्छ ।'
उनका अनुसार भट्टराई केही समयअघि जिल्ला प्रहरी कार्यालय झापाबाट सरुवा भएर आएकी थिइन् । बुधबार बिहान ड्युटीमा गएकी भट्टराई डीएसपी थापाले आत्महत्या गरेको खबर थाहा पाएपछि सन्चो नभएकाले डाक्टरलाई पेट देखाउने भन्दै गएकी थिइन् । 'ड्युटी अफिसरलाई सन्चो नभएको जानकारी गराएर गएकी रहिछन्,' एसएसपी श्रेष्ठले भने, 'एकाएक सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा झुन्डिएको अवस्थामा फेला पारियो ।'
डीएसपी थापाको आत्महत्याको कारण पत्ता लगाउन महानगरीय प्रहरी अपराध महाशाखाले 'कल डिटेल्स' अध्ययन गरेको थियो । त्यो क्रममा डीएसपी थापा र भट्टराईको मोबाइलमा निरन्तर सम्पर्क भएको पाइएको थियो । ललितपुर परिसरको 'कन्ट्रोल कक्षको ल्यान्डलाइन नम्बरबाट पनि थापाको मोबाइलमा फोन गएको पाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा हुँदा डीएसपी थापालाई भेट्न भट्टराई सिन्दुर पोते लगाएर गएको प्रहरीले जनाएको छ । उनीहरूबीच कहिलेदेखि सम्बन्ध थियो भन्ने नखुले पनि थापा भट्टराईको डेरा-कोठामा गइरहने गरेको पाइएको छ ।
मिसनमा जानुअघि गर्नुपर्ने तालिम नक्सालस्थित गणमा दिउँसो मात्र हुने गरे पनि थापाले राति पनि गणमा बस्ने भन्दै घरबाट निस्किने गरेको पाइएको छ । आफूसँग सम्बन्ध भएको व्यक्तिले आत्महत्या गरेको पीडाले वा आफू पनि त्यो विवादमा पर्न सक्ने डरले भट्टराईले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीले बताए ।
मंगलबार राति डीएसपी थापाले गोकर्णस्थित घर छेउको जंगलमा झुन्डिएर आत्महत्या गरेका थिए । प्रहरीभित्र इमान्दार र राम्रो मानिएका डीएसपी थापाको यो सम्बन्धबारे कमैलाई थाहा भएको र सार्वजनिक हुँदा बदनामी हुने वा जागिरै जान सक्ने डरले आत्महत्या गरेको हुनसक्ने प्रहरीहरू बताउँछन् । थापा यही कात्तिक २५ मा ६ महिनाका लागि संयुक्त राष्ट्रसंघीय मिसनमा जान लागेका थिए ।
Labels:
National News

Post a Comment