
ईन्दिरा जोशी अर्थात अहिलेकी व्यस्त गायिका । रियालीटी सो नेपाली ताराबाट उदाएकी ईन्दिरालाई कतिपयले नेपाली साकिरा समेत भन्ने गर्छन् । नेपाल भित्र हुने स्टेज कार्यक्रमहरुमा मात्रै होइन बिदेशमा हुने कार्यक्रमा पनि पहिलो रोजाईमा पर्छिन् गायिका ईन्दिरा जोशी ।
सुन्दर रुपकी धनी ईन्दिरालाई कतिपय निर्देशकले फिल्ममा नायिकका लागि समेत अफर गर्ने गर्छन् । तर ईन्दिरा भनें नायिका होइन गायिकाकै रुपमा अगाडी बढ्न चाहन्छिन् । अहिले नेपाली सिनेमाका आइटम गीतमा इन्दिराको आवाज अनिवार्य जस्तै भई सकेको छ । सुन्दरी गायिका इन्दिरा जोशीसँग उज्यालो अनलाईनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी :
१.कहिल्यै उध्रेको चोली लगाउनु भएको छ ?
हा हा हा ...... गीतमा जे गायो त्यही गर्नुपर्छ भन्ने छैन नी । जहाँसम्म चोलीको कुरा आयो पक्कै पनि लगाएको छु । उध्रेको चोली चाँही होइन, चौबन्दी चोली लगाएकी छु । परम्परागत ड्रेसहरु लगाउन रमाइलै हुन्छ तर सधैं लागएर हिड्नुपर्छ भन्ने जरुरी छैन । प्रायःजसो चाँही विभिन्न रंगको जिन्स र टिसर्टमा नै हुन्छु ।
२.पढाई कहाँ पुर्याउनु भयो नी ?
म कमर्सको विद्यार्थी हुँ । पढाई स्नातकोत्तर तह दोश्रो बर्षमा चलिरहेको छ ।
३. निधारमा खत छ, कसरी लाग्यो चोट ?
हजुर, यो सानोमा झ्यालमा ठोक्किएर लागेको चोटको खत हो । सानोमा म एकदमै चकचके र निडर थिएँ रे । सर्प, भ्यागुता, साङ्ला केहीसंग पनि नडराउने । समात्न गई हाल्ने । त्यही भएर त्यतिबेला गरेको सानो चकचकको चिनो हो यो ।
४.अहिले चाँही ति कुरासँग डर लाग्छ कि लाग्दैन ?
बिचमा डराउँथे अहिले डराउँदिन । भूतका फिल्म हेर्न डर लाग्छ । संवेदनाका दृष्य आउँदा आँखाबाट आँसु झरिहाल्छ ।
५. नेपाली तारामा कसरी सहभागी हुनुभयो ?
म ठ्याक्क त्यो बेला काठमाडौं आएकी थिएँ । काठमाडौं आएर संगीत सिक्दै थिए । लगभग एक बर्ष जति भएको थियो संगीत सिकेको । त्यही बेला रियालिटी सो नेपाली तारा आयो । यसको बिज्ञापन पत्रिकामा देखेर मेरो साथी अष्टु दुवाडीले मलाई पनि प्रयास गर्न प्रेरित गर्नुभयो । त्यसपछि प्रतिस्पर्धामा गाउन गएकी थिएँ । “एक्लै बस्दा सधैं मलाई भन्ने” अरुणा लामाको गीत गाएर म पहिलो चरणमा छनौट भएकी थिएँ । म नवलपरासीको परासी बजारबाट काठमाडौं आएकी थिएँ । हाम्रो तिर हिन्दी गीत खुव चल्थ्यो, नेपाली गीत त एक दुईवटा मात्र आउथ्यो । धन्न छनौट भएँ ।
६. दर्शक स्रोताले तपाईलाई त नेपाली सकिरा भन्छन नि कस्तो लाग्छ ?
ठिकै हो, एउटा टाइटल होला । तर मलाई प्लीज सकिरासँग तुलना नगरिदिनुस भन्छु । स्टेजमा कहिलेकाही सकिराको गीत गाउँछु, बेली डान्स पनि गर्छु । त्यही भएर सकिरासँग तुलना गर्नु भएको हुन सक्छ । तर मलाई त्यो तुलना अलिक ठिक भएन जस्तो लाग्छ । म आफुलाई इन्दिरा जोशी नै भएर चिनाउन चाहन्छु ।
७. तपाई कस्तो गायिका हो ?
म भर्सटायल छु जस्तो लाग्छ । म सबै किसिमका गीतहरु गाई रहेको हुन्छु । स्रोताले चाही त्यती धेरै सुन्न पाउनु भएको छैन, त्यति मात्र हो । अहिले धेरै चाही फिल्मको आइटम गीतहरु गरि रहेकी छु तर म ब्याण्डहरुसँग पनि काम गरि रहेकी छु । आधुनिक, पप, रक सबै गीत गाइ रहेकी हुन्छु । धेरै अंग्रजी गीतहरु पनि कम्पोज गरिरहेकी छु । चाडै अंग्रेजी गीतहरुको एल्बम लिएर आउने कोशिषमा छु ।
८. स्टेज कार्यक्रममा गीत गाउँदा कति पारिश्रमिक लिनु हुन्छ ?
यो त कार्यक्रमको प्रकृतिमा निर्भर गर्छ नि । प्रायः देशभित्र नै जाँदा चाही ३०–३५ हजारको हाराहारीमा लिन्छु भने विदेशको मेरो रेट एक लाख हो । विदेशमा जाँदा त सि.डिबाट पनि एक्सट्रा आउँछ । साथै कुनै कुनै ठाउँमा त झन् नेपाली छोरी चेली भनेर खादा ओडाएर खाममा पैसा राखेर दिने चलन पनि छ । मलाई त त्यो बेलामा दशैं आए जस्तै लाग्छ ।
९. तपाईको सुन्दरताको राज के हो ?
हा हा हा...सायद ममी ड्याडीको कमाल होला । मेरो बुबा पनि एकदमै हेन्डसम हुनुहुन्छ । उहाँलाई डेसिङ्ग सेन्स राम्रोसँग थाहा छ । ममीको त कुरै नगरौ, उहाँ त झन् पुरानो जमानाको हिरोइन जस्तो हुनुहुन्छ । उहाँहरु दुई जनाको समिश्रणले गर्दा होला म राम्री भएको हा हा हा ...... ।
१०. ब्वाईफ्रेण्ड छ कि छैन ?
अहँ, छैन । पहिले म मेरो पढाईमा ब्यस्त थिए लभ गर्ने टाइम नै भएन । अहिले म मेरो काममा बिजी छु । मलाई लभ गर्ने फुर्सद नै छैन । मलाई लाग्छ म डाइरेक्ट विहे नै गर्छु होला ।
Post a Comment